
दिल्लीमा मजदूरी गर्ने समीरुल १२ सय किलोमिटर ठेला चलाएर बिहारमा भएको आफ्नो घर आएका छन् । उनी १० दिनमा घर पुगेका हुन् ।
दिल्लीबाट बिहारको मधुबनी जिल्लामा रहेको सोठगाउँसम्म ठेला चलाएरै उनी आइपुगेका हुन् ।
विगत १८ वर्षदेखि उनी दिल्लीको आजाद मार्केटमा मजदूरी गर्छन् । मार्च २२ मा जनता कर्फ्यु लगाइएदेखि नै उनी ठेला चलाउने मजदूर साथीहरूसँग घरतिर हिँडेका हुन् ।
समीरुल भन्छन्, ‘केही बुझ्न सकिरहेको थिइनँ । सबै कुरा बन्द थियो । कमाइ भइरहेको थिएन । डेरा नभएकाले रामबाग रोडमा सुत्थें । त्यहाँबाट पनि प्रहरीले भगायो । अनि गुजारा चलोस् ? त्यसैले घर आएँ ।’
समीरुल र उनका साथीहरू मार्च २२ को साँझ आफ्ना ठेला र अलिकति खानेकुरा लिएर हिँडे ।
उनले भने, ‘मसँग अलिकति पैसा थियो तर बाटोमा मानिसहरू केरा, चिउरा, पुरी र पानी बाँडिरहेका थिए । त्यही खाँदै वर्दै आएँ । प्रहरी ठाउँठाउँमा भेटिए तर उनीहरूले दूरी कायम राखेर हिँड्न मात्र भने । नत्र जहाँ मन लाग्यो त्यहाँ ठेला रोकेर केही घन्टा आराम गरेर अघि बढें ।’
दिनको औसत ३०० रुपैयाँ कमाउने समीरुल र उनका साथीहरूलाई गोपालगंज जिल्लाको सीमामा सरकारी बसले चढायो र दरभंगा ल्याएर ओराल्यो ।
यसले धेरै राहत दिएको समीरुल बताउँछन् । दरभंगाबाट सबै ठेला मजदूर आआफ्नो गाउँ गए । समीरुल पनि मार्च ३१ अपराह्न ठेला लिएर गाउँ पुगे ।
गाउँ पुग्दा उनलाई गाउँलेले स्वागत गरे । बच्चाहरू उनको ठेलापछाडि दौडिए र वयस्कहरू खुशी भए ।
उनलाई अस्पताल लगेर स्वास्थ्य जाँच गरिएको छ ।