चन्द्रागिरि, ७ पुस - विश्वको सर्वोच्च शिखर सगरमाथा नाङ्गो आँखाले हेर्न हजारौँ विदेशी पर्यटक लाखौँ खर्च गरेर नेपाल आउँछन् र कोही सगरमाथाको चुचुरोमै पुग्छन् त कोही फेदीमा पुगेर सगरमाथालाई नाङ्गो आँखामा कैद गर्छन् ।

हामी सगरमाथाकै देशका कतिपय नागरिकले सगरमाथा हेर्न पाएका छैनौँ तर अब यो स्थितिमा परिवर्तन आएको छ, सगरमाथा हेर्न इच्छुक नागरिकले अब काठमाडौँबाटै देख्न सकिने छ । काठमाडौँ उपत्यकाको सबैभन्दा अग्लो डाँडो चन्द्रागिरि (दुई हजार ५४० मिटर)मा बनाइएको भ्युटावरबाट उत्तरी दिशामा पूर्वदेखि पश्चिम भएर फैलिएको मनोरम हिमश्रृङ्खला मनै लोभिने गरी हेर्न सकिन्छ । त्यही हिमश्रृङ्खलामा भ्युटावरबाट सगरमाथा हेर्न सकिने भएको आजको गोरखापत्रमा खबर छ ।
चन्द्रागिरि हिल्स लिमिटेडले साउन अन्तिम साताबाट सञ्चालनमा ल्याएको केबुलकारको आरामदायी यात्रा वा थानकोटबाट चित्लाङ जाने कच्चीबाटो भएर चन्द्रागिरि डाँडोमा पुग्दा पूर्वमा सगरमाथा र पश्चिममा माछापुच्छ«ेसम्म एकैचोटी आँखाभरि राख्न सकिन्छ ।
चन्द्रागिरि हिल्स लिमिटेडका सञ्चालक अम्बिकाप्रसाद पौडेलले पूर्वमा सगरमाथादेखि पश्चिममा काञ्जिरोवा हिमाल मज्जैले देख्न सकिने जानकारी दिए । अन्य हिमश्रृङ्खला खुला आँखाले देखिने भए पनि सगरमाथा भने चन्द्रागिरि डाँडोमा निर्मित भ्युटावरमा रहेको दुरबिनको मद्दतले सजिलैै देख्न सकिने पौडेलले बताए ।