०४ साउन २०८३, सोमबार

गर्मीमा घट्ला त कोरोनाको संक्रमण ? वैज्ञानिकहरू छैनन् ढुक्क

चैत २३, २०७६
गर्मीमा घट्ला त कोरोनाको संक्रमण ? वैज्ञानिकहरू छैनन् ढुक्क

विश्वका विभिन्न भागमा गर्मी लाग्न शुरू भएको छ । वैज्ञानिकहरूले गर्मी महिनामा कोरोनाभाइरसले कस्तो व्यवहार देखाउँछ भनी हेर्न खोजिरहेका छन् । 

फ्लुजन्य महामारीहरू जाडो महिना सकिएपछि मर्ने गर्छन् त्यसैले कोरोनाभाइरस फैलिनबाट सूर्यको किरणले रोक्ला त ? यो एक महत्त्वपूर्ण प्रश्न हो र सरुवा रोग विशेषज्ञहरू यसलाई नजिकैबाट नियालिरहेका छन् । 

अन्य किसिमका कोरोनाभाइरस मौसमअनुसार आउने गरेको देखिएको छ । जाडोमा ती भाइरस चरममा पुग्छन् भने गर्मीमा ती हराउँछन् । त्यसरी चरममा पुग्ने बेलामै फ्लुका संक्रमण फैलिन्छन् । यसको विपरीत कुनै कुनै कोरोनाभाइरस मात्र गर्मी महिनामा फैलिएको देखिन्छ । 

सामान्य कोरोनाभाइरसहरूको अध्ययनको निष्कर्ष अघिल्लो साता युनिभर्सिटी कलेज लन्डनका वैज्ञानिकहरूले प्रकाशित गरेका थिए । वर्षौंअघि संकलन गरिएका नमूनाहरूमा कोरोनाभाइरस फेब्रुअरी महिनामा ह्वात्तै बढेको अनि गर्मी महिनामा एकदमै कम भएको पाइयो । अन्य अध्ययनहरूले पनि कोरोनाभाइरसहरू उष्ण तापक्रम भएका क्षेत्रमा मौसमी रूपमा प्रकट हुने देखाएका छन् । 

तर अध्ययन प्रमुख रब आल्डरिजले सतर्कता अपनाउनुपर्ने बताए । ‘गर्मी महिनामा कोरोनाभाइरस संक्रमण कम स्तरमा कायम रहने तर जाडोमा बढ्ने हामीले पाएका छौं । जोखिममा रहेका मानिसलाई अर्को जाडोमा पनि कोरोनाले समात्न सक्छ,’ उनले भने । 

‘अहिलेको भाइरस नयाँ किसिमको भएकाले यो गर्मी महिनामा बिलाउँछ भन्न सकिन्न किनकि ठूलो जनसंख्या अझै जोखिममा छ । त्यसैले गर्दा हामीहरू अहिले दिइएको सल्लाहलाई नै अनुसरण गरिरहनुपर्छ ।’

उनको यस तर्कलाई अन्य वैज्ञानिकले पनि समर्थन गरेका छन् । कोभिड–१९ भाइरस पूर्णतया नयाँ संक्रामक भएकाले ठूलो जनसंख्याले अझै पनि यसको प्रतिरोधक क्षमता (इम्युनिटी) विकसित गर्न नसकेको उनीहरूको भनाइ छ परिणामस्वरूप गर्मी लागे पनि यो भाइरस अहिलेकै गतिमा फैलिने सम्भावना पनि छ । 

द गार्डियनबाट

salt training

कमेन्ट गर्नुहोस्