०५ साउन २०८३, मंगलबार

१४ दिनले नपुग्ने, अब २१ दिन क्वारेन्टाइनमै बस्नुपर्ने

१४ दिनले नपुग्ने, अब २१ दिन क्वारेन्टाइनमै बस्नुपर्ने

सोमवार बसेको मन्त्रिपरिषद बैठकले १४ दिन क्वारेन्टाइन बस्नुपर्ने व्यवस्थालाई परिमार्जन गरेर ७ दिन थप गरेको छ । अर्थमन्त्रीसमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता युवराज खतिवडाले मन्त्रिपरिषद बैठकको निर्णय सुनाउँदै १४ मात्र क्वारेन्टाइन बसेर नपुग्ने बताएका हुन् ।

‘१४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्थालाई अलिकति परिमार्जन गरिएको छ,’ मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता खतिवडाले भने, ‘१४ दिनपछि टेस्ट गर्ने र त्यसपछि थप ७ दिन अनिवार्य होम क्वारेन्टाइन बस्नुपर्नेछ । होम क्वारेन्टाइन बसे/नबसेको स्थानीय तहले अनुगमन गर्नेछ ।’

त्यस्तै मन्त्रिपरिषद बैठकले स्वास्थ्य स्वयंसेविकाहरूलाई यस कामका लागि खटाउने निर्णयसमेत गरेको छ ।

‘यसका लागि स्वास्थ्य स्वयंसेविकालाई परिचालन गर्ने, क्वारेन्टाइनमा रहे नरहेको हेर्नेलगायतका अन्य काम गर्ने र यसो गरेबापत एक पटकका लागि प्रतिव्यक्ति १५ सय प्रोत्साहन रकम उपलब्ध गराइनेछ,’ प्रवक्ता खतिवडाले भने ।

यससँगै मन्त्रिपरिषद बैठकले लक-डाउनको अवधि वैशाख ३ गतेसम्म बढाउने निर्णय पनि गरेको छ । तर लक-डाउनको अवधिमा अत्यावश्यक ढुवानी भने कायमै राखिनेछ ।

‘खुला सीमाबाट हुने आवागमन पनि वैशाख ३ गतेसम्मका लागि बढाइएको छ,’ प्रवक्ता खतिवडाले भने ।

आजैको बैठकले नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले निजी अस्पतालमा कार्यरत चिकित्सकहरू सरकारी अस्पतालमा आउन चाहे सोही अनुसार दरबन्दी मिलान गरिने निर्णय गरेको छ । ‘निजी क्षेत्रका डाक्टरहरू यदि सरकारी अस्पतालमा आउन चाहनुभयो भने सोही अनुसार दरबन्दी मिलान गरिनेछ,’ प्रवक्ता खतिवडाले भने, ‘निजी अस्पतालमै बसेर कोरोना सम्बन्धी काम गरिरहेका डाक्टरहरूलाई सरकारी डाक्टरसरह नै भत्ता दिने निर्णय भएको छ ।’

आजको बैठकले कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिमा नरहेका मन्त्रीहरूलाई छुट्टै कार्यविभाजन गरेको प्रवक्ता खतिवडाले बताए ।

salt training

कमेन्ट गर्नुहोस्