०४ असार २०८३, बिहीबार

कोरोना संक्रमितलाई धमाधम मलेरियाको औषधि

चैत २६, २०७६
कोरोना संक्रमितलाई धमाधम मलेरियाको औषधि

कोरोना संक्रमणले महामारीको रूप लिइरहेका वेला यसलाई नियन्त्रण गर्न विश्वव्यापी रूपमा मलेरियाका लागि प्रयोग हुने औषधिको माग बढ्न थालेको छ । कोरोनाविरुद्ध औषधि तथा खोपको विकास नभइरहेको अवस्थामा विभिन्न मुलुकमा मलेरियाको औषधि प्रयोग हुन थालेको हो । विश्व स्वास्थ्य संगठनले क्लोरोक्विन र हाइड्रोएक्सवाइक्लोरोक्विनबाट कोरोना उपचार गर्ने पर्याप्त प्रमाण नभएको बताउँदा पनि यी दुई औषधिले विश्वको ध्यान तानेको छ । कोरोना भाइरसको उपचारमा ती औषधिको प्रभावकारिता कस्तो देखिएको छ र कुन देशले ती औषधि प्रयोग गरिरहेका छन् भन्नेबारे एक रिपोर्ट :

विज्ञहरू भन्छन्– साइड इफेक्ट गर्छ

कोरोना उपचारमा ती दुवै औषधि खासै प्रभावकारी नभएको पछिल्लो अवस्थाले देखाइरहेको छ । औषधिले काम गरेको भए अहिले हजारौँ मानिस मृत्युको मुखमा धकेलिँदैनथे । फ्रान्समा गरिएको एउटा अनुसन्धानमा पनि अहिले चर्चा भइरहेका दुवै औषधि कोरोना उपचारका लागि उपयोगी नहुने वैज्ञानिकले बताएका छन् । बरु यी औषधिले किड्नी र कलेजोलाई असर गर्नेलगायत अन्य साइड इफेक्ट हुने केही विज्ञको भनाइ छ । ‘यी औषधिको प्रभावकारिता मूल्यांकन गर्न बृहत् रूपमा परीक्षण गर्नुपर्छ,’ युनिभर्सिटी अफ अक्सफोर्डका कोम गिब्निगी भन्छन् । ती औषधिबारे अमेरिका, बेलायत, स्पेन, चीनलगायत देशमा परीक्षण भइरहेका छन् ।

ती औषधि कोभिड–१९ को असर कम गर्न सक्षम छन् वा छैनन् भन्ने पत्ता लगाउन ‘क्लिनिकल’ परीक्षण भइरहेको बेलायती मन्त्री मिसेल गोभ बताउँछन् । अमेरिकामा कोरोना संक्रमितको उपचार गर्न क्लोरोक्विन, हाइड्रोएक्सवाइक्लोरोक्विन र अर्को एन्टिबायोटिक औषधि जिथ्रोम्याक्सको मिश्रण गरी विभिन्न परीक्षण भइरहेका छन् ।

कुन–कुन देशले मलेरियाको औषधि कोरोनाका लागि प्रयोग गर्न अनुमति दिए ?

अमेरिकामा औषधिको इजाजत दिने खाद्यान्न तथा औषधिसम्बन्धी प्रशासन (एफडिए) कोरोनाको उपचारका लागि मलेरियामा प्रयोग हुने औषधिलाई ‘आपत्कालीन प्रयोग’का लागि अनुमति दिएको छ । तर, सो औषधिले कोरोना निको हुने दाबी भने एफडिएले गरेको छैन ।

सरकारले भण्डारण गरेको केही त्यस्ता औषधिलाई विशेष अवस्थामा कोरोना उपचारमा अस्पतालले अनुरोध गरेर प्रयोग गर्न सक्ने सो निकायले जनाएको छ । कोरोना महामारीले अमेरिकी जनजीवन अस्तव्यस्त भइरहेका वेला जर्मनस्थित एक औषधि कम्पनीले ३ करोड हाइड्रोएक्सवाइक्लोरोक्विनको डोज अनुदानस्वरूप दिएको अमेरिकाले जनाएको छ । अन्य देशले पनि मलेरियाको उपचारमा प्रयोग हुने यी औषधि प्रयोग गरेका छन् ।

फ्रान्सले कोरोनाका बिरामीलाई ती औषधि प्रयोग गर्न अनुमति दिएको छ, तर सो औषधिले साइड इफेक्ट गर्ने देशको स्वास्थ्यसम्बन्धी निकायले चेतावनी दिएको छ । त्यस्तै, भारतको स्वास्थ्य मन्त्रालयले पनि कोरोनाको प्रारम्भिक उपचारका लागि हाइड्रोएक्सवाइक्लोरोक्विन प्रयोगका लागि सुझाब दिएको छ ।

कोरोना संक्रमितको सम्पर्कमा रहेका घरमै बस्ने व्यक्तिले पनि डाक्टरको प्रेस्क्रिप्सनका आधारमा सो औषधि प्रयोग गर्न सक्ने जनाइएको छ । तर, भारत सरकारको अनुसन्धानसम्बन्धी निकायले मलेरियाको उपचारमा प्रयोग हुने सो औषधि कोरोना उपचारमा प्रयोग नगर्न चेतावनी दिएको छ । मध्यपूर्वका अधिकांश देशले पनि परीक्षणका लागि भन्दै कोरोना संक्रमितलाई धमाधम मलेरियाको औषधि खुवाउन थालेका छन् ।

कोरोना संक्रमितलाई हाइड्रोएक्सवाइक्लोरोक्विन प्रयोग गर्ने आफू पहिलो देश भएको बहराइनले दाबी गरेको छ । त्यस्तै मोरक्को, अल्जेरिया र ट्युनिसियामा पनि यसकोे व्यापक प्रयोग भएको छ । तर, त्यसको प्रभावकारिताबारे कुनै देशले बताएका छैनन् ।

के विभिन्न देशसँग मलेरियाको पर्याप्त औषधि छ ?

मलेरिया नियन्त्रण गर्ने औषधि कोरोना संक्रमितको सम्भाव्य उपचारमा तीव्र प्रयोग हुन थालेपछि विभिन्न देशमा यसको माग बढेको छ र औषधिको अभाव देखिएको छ । मलेरिया र यसको उपचारका लागि क्लोरोक्विन तथा योसँग सम्बिन्धत अन्य औषधि लामो समयदेखि विभिन्न औषधि पसलले बिक्री गर्दै आएका छन् । मलेरिया नियन्त्रण गर्ने विभिन्न देशका सरकारी प्रयासका बाबजुद पनि कतिपय देशमा यसको प्रकोप देखिइरहेका वेला यसको निरन्तर उत्पादन भइरहेको छ ।

अनधिकृत रूपमा यसको भण्डारण हुनबाट जोगाउन जोर्डनले हाइड्रोएक्सवाइक्लोरोक्विनलाई औषधि पसलमा बिक्री गर्न रोक लगाएको छ । त्यसैगरी कुवेतको स्वास्थ्य मन्त्रालयले पनि सरकारी अस्पताल र स्वास्थ्य केन्द्रमा मात्र ती औषधिलाई सीमित गरेको छ । केन्यामा प्रेस्क्रिप्सनविना ती औषधि बिक्री गर्न निषेध छ । मलेरियामा प्रयोग हुने हाइड्रोएक्सवाइक्लोरोक्विन उत्पादनका लागि भारत मुख्य देश हो । उसले आफूद्वारा उत्पादित औषधिको निर्यातमा प्रतिबन्ध लगाएको छ । 

‘अनियन्त्रित प्रयोग असुरक्षित हुन सक्छ ’

नाइजेरियामा मलेरियाको उपचारका लागि मानिसले नियमितजसो क्लोरोक्विनमिश्रित ट्याबेलट नियमित प्रयोग गर्छन् । यसको प्रभावकारिता नदेखिएको भन्दै सरकारले सन् २००५ मा यो औषधिमाथि केही समय प्रतिबन्ध लगाएको थियो । क्लोरोक्विनले कोरोना नियन्त्रण हुने चर्चा चलेपछि फेब्रुअरीमा केही मानिसले धमाधम संग्रह गरेका थिए ।

अमेरिकामा ट्रम्पले नै सिफारिस गरेपछि त्यहाँका औषधि पसलले धमाधम यसको बिक्री गरिरहेका छन् । तर, नाइजेरियाको सरुवा रोग रोकथाम केन्द्रले यो औषधि प्रयोग नगर्न अनुरोध गरेको छ । ‘विश्व स्वास्थ्य संगठनले यसलाई प्रयोग नगर्न भनेकाले केन्द्र पनि यसको प्रयोगको विपक्षमा छ,’ नाइजेरियाको स्वास्थ्यसम्बन्धी निकायले भनेको छ । 

ट्रम्पले नै गरे सिफारिस 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइटहाउसमा आयोजित बैठकमा कोरोनाको उपचारमा हाइड्रोएक्सवाइक्लोरोक्विन प्रयोग गर्न सकिने बारम्बार बताउँदै आएका छन् ।

हालै आयोजित एक पत्रकार सम्मेलनमा सो औषधिको सन्दर्भ कोट्याउँदै उनले भनेका थिए, ‘हाइड्रोएक्सवाइक्लोरोक्विन र क्लोरोक्विनजस्ता औषधि खाँदा केही फरक पर्दैन ।’ त्यस्तै, ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले पनि हाइड्रोएक्सवाइक्लोरोक्विनले सबै काम गर्ने भन्दै फेसबुकमा एउटा भिडियो पोस्ट गरेका थिए । तर, केही समयपछि फेसबुकले उनको पोस्ट हटाइदिएको थियो ।

मलेरिया उपचारमा प्रयोग गरिने क्लोरोक्विनमा ज्वरो र जलन घटाउने तत्व हुन्छ र सोही औषधिले कोरोना भाइरसलाई कमजोर बनाउने विश्वास गरिएको छ । ‘प्रयोगशालामा गरिएका अध्ययनमा क्लोरोक्विनले कोरोनाको प्रभाव न्यून गर्न सक्ने भनी चिकित्सकले सुझाब दिएका अपुष्ट प्रमाण भेटिन्छ,’ बिबिसीका स्वास्थ्य मामिला संवाददाता जेम्स जालागेर भन्छन् । नयाँ पत्रिकामा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्