
नेपाल–भारत मानव विकास एवं मैत्री संघले कोरोना भाइरसको परीक्षण एवं उपचारमा खटिन सुदूरपश्चिम प्रदेशका चिकित्सकका लागि आवश्यक पर्ने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) र अन्य मेडिकल सामग्री सहयोग गरेको छ ।
संघले सुदूरपश्चिम प्रदेशमा चिकित्सकका लागि आवश्यक पीपीई लगायत स्वास्थ्य सामग्री खानेपानी मन्त्री बिना मगरलाई हस्तान्तरण गरेको हो ।
कोरोना रोकथाम तथा नियन्त्रण गर्नका लागि सुदूरपश्चिम सरकारसँग खानेपानी मन्त्री मगरले समन्वय गरिरहेकी छन् । सुदूरपश्चिम प्रदेश सरकारसँग समन्वय गर्न खानेपानी मन्त्री मगरलाई केन्द्र सरकारले यसअघि नै जिम्मेवारी दिएको थियो ।
शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले संघले उपलब्ध गराएको २०० थान पीपीई लगायतका सामग्री खानेपानी मन्त्री मगरलाई सिंहदरवारमा बिहीवार हस्तान्तरण गरेका छन् ।
कोरोना विरुद्धको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकका लागि सहयोग प्राप्त भएको आवश्यक व्यक्तिगत सुरक्षा सामग्री पीपीई मन्त्री मगरले सुदूरपश्चिम प्रदेश सरकारलाई हस्तान्तरण गर्नेछिन् ।
पीपीई लगायतका स्वास्थ्य सामग्री ग्रहण गर्दै मन्त्री मगरले संस्थालाई धन्यवाद दिँदै विपद्को समयमा आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्न सबैलाई आह्वान समेत गरिन् ।
सहयोगले कोरोना संक्रमणको उपचारमा खटिएका स्वास्थ्यकर्मीको मनोबल बढाउन मद्दत पुग्ने उनले बताइन् । ‘यस्तो महामारीविरुद्ध सबै जना हातेमालो गरेर एकसाथ लड्नको निम्ति म हार्दिक आह्वान गर्न चाहन्छु,’ उनले भनिन्, ‘यस बेला सामाजिक संस्था र व्यक्तिहरूको सहयोग अपरिहार्य छ । सबैले आ–आफ्नो ठाउँबाट सहयोग गरौं ।’
संघले सहयोग गरेका सामग्रीमा पीपीई सेट लगायत पञ्जा, एप्रोन, मास्क, चस्मा, टोपी र स्यानिटाइजर लगायत छन् ।