
अमेरिकाको मिनेसोटामा कोरोनाभाइरस संकटका बेलामा डेरावाललाई निकाल्ने एक घरपेटीविरुद्ध अधिकारीहरूले मुद्दा दायर गरेका छन् । उनले यस बेलामा मानिसलाई घरनिकाला गरेर राज्यको नियम उल्लंघन गरेको पाइएको हो ।
अमेरिकामा भाइरस संक्रमण फैलिएपछि आर्थिक गतिविधि ठप्प भएकाले मानिसहरू बेरोजगार भएका छन् र घरभाडा तिर्न नसक्ने स्थितिमा पुगेका छन् । यस्तोमा जोखिममा परेका डेरावालको हितका लागि सरकारले कठोर कदम उठाएको हो ।
धेरै शहर र राज्यहरूले डेराबाट मानिस निकाल्न प्रतिबन्ध लगाएका छन् । मिनेसोटाले डेरावाललाई निकाल्ने घरपेटीविरुद्ध अदालतमा धमाधम मुद्दा दायर गरिरहेको छ ।
अघिल्लो साता पाइन काउन्टीमा रहेका एक घरपेटी हावर्ड मोस्तादले डेरावाललाई निकाल्न नपाउने नियम तोडेपछि उनीविरुद्ध मुद्दा दायर गरिएको छ ।
अदालतमा दायर गरिएको मुद्दामा मोस्तादले एक परिवारलाई अप्रिल १ मा डेरा सर्न भनेका थिए । तर त्यो मिति आउँदै गर्दा परिवारले नयाँ ठाउँ पाउन सकेन किनकि भाइरस फैलिएपछि मानिसहरूलाई घरैमा बस्न आदेश दिइयो ।
मोस्ताद उक्त परिवारको कोठामा अप्रिल २ मा आए र नयाँ डेरावाललाई कोठा देखाउँछु भने । तर नयाँ मान्छेलाई घरमा ल्याउँदा रोग लागेकी आफ्नी चार वर्षीया छोरीमा भाइरस संक्रमणको खतरा हुने भनी परिवारले आउन दिएन ।
त्यसपछि मोस्ताद कोठामा जबर्जस्ती पसे र बोइलर रूमको सर्किट ब्रेकरहरू हटाए । त्यसले गर्दा परिवारले बिजुली, हीटिङ सिस्टम र तातो पानीको सुविधा पाएन ।
घरपेटीहरूलाई अप्ठ्यारो परिरहेको भए पनि यी घरपेटीको व्यवहार चाहिँ अति नै क्रूर देखिएको मिनेसोटा राज्यका महान्यायाधिवक्ता कीथ एलिसनले बताए । त्यसैले राज्यले उनीविरुद्ध मुद्दा दायर गरेर अन्यलाई पनि चेतावनी दिएको हो ।
मानिसहरूलाई घरबारविहीनको आश्रयस्थलमा लैजाँदा सार्वजनिक स्वास्थ्यमा खतरा पर्ने एलिसनको भनाइ छ ।