०२ असार २०८३, मंगलबार

अलपत्र ६७ भारतीय नेपाली सेनाले बनाएकाे क्वारेन्टाइनमा

चैत २७, २०७६
अलपत्र ६७ भारतीय नेपाली सेनाले बनाएकाे क्वारेन्टाइनमा
प्रतिकार्यात्मक तस्वीर।

नेपालका विभिन्न जिल्लाबाट घर फर्किदै गरेका ६७ भारतीय नागरिकलाई नेपाली सेनाले बनाएको क्वारेन्टाइनमा राखिएको छ। कोहलपुर नगरपालिका– ८ हवल्दारपुरस्थित राम माविमा स्थापना गरिएको अस्थायी एकान्तबासमा उनीहरुलाई राखिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए।

उनका अनुसार, बुधबार बसेको जिल्ला विपद् व्यवस्थापन केन्द्रको बैठकले उनीहरुका लागि आवश्यक एकान्तबास निर्माण गर्न टेन्टका लागि नेपाली सेना, नेपाल रेडक्रस सोसाइटी बाँके तथा अन्य आवश्यकपर्ने वित्तीय व्यवस्थापनका लागि प्रदेश सरकारलाई अनुरोध गरिएको थियो। 

बाँकेको कुसुमस्थित राजमार्गमा रोकिएका उनीहरुलाई इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले उद्धार गरेर अस्थायी एकान्तबासमा ल्याएको हो। कोभिड– १९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीपछि अलपत्र परेका उनीहरु चितवनबाट पैदल हिँडेरै नेपालगञ्ज आउँदै गरेका बुझिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए।

उद्धार गरिएकामध्ये एक जना १५ दिने सुत्केरी र ३७ जना १८ वर्ष मुनिका बालबालिका रहेका छन् । नेपालभित्रै यात्रा गरिरहेका उनीहरुबाट कोरोना सङ्क्रमणको खतरा न्यून भए पनि तत्कालका लागि एकान्तबासमा राखिएको प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिए। कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि जारी बन्दाबन्दीका कारण यातायात सेवा र सीमा नाकासमेत ठप्प भएपछि नेपालबाट भारत जाने र भारतबाट नेपाल फर्किने कामदार अलपत्र पर्न पुगेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्