
सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–५ तौथलीका एक युवकले कोरोना सङ्क्रमण हुन नदिन क्वारेन्टाइन कक्ष निर्माण गर्नुभएको छ । सामाजिक व्यक्तित्व यादव श्रेष्ठले तौथलीमा १० शय्याको सुविधायुक्त क्वारेन्टाइन कक्ष बनाएकी हुन् ।
वैशाख १२ को भूकम्पपछि नेपाली सेनाले तौथलीमा निमार्ण गरिदिएको ट्रस्टमा यादवले स्वास्थ्य सामग्रीसहित स्वास्थ्यकर्मीको रेखदेख रहने गरी क्वारेन्टाइन कक्ष निर्माण गरेका हुन्। गाउँका कसैलाई कोरोना भाइरसको सङ्क्रमण नहोस् भन्ने हेतुले क्वारेन्टाइन कक्ष निर्माण गरेको यादवले बताएका छन् । तौथली जस्तो बिकट क्षेत्रमा कसैले पनि वास्ता नगरेपछि आफूले घरखर्च कटाएर क्वारेन्टाइन वार्ड बनाएको श्रेष्ठले जानकारी दिए।
प्रत्येक कक्षमा भिआइपी खाट, सिरकडस्ना, स्वास्थ्य सामग्रीको व्यवस्था गरिएको छ । साबुन पानी, डस्टबिन राखिएको छ भने उचित बिजुली र खानेपानीको प्रबन्ध मिलाइएको छ ।
यसैबीच पूर्वकानूनमन्त्री शेरबहादुर तामाङले क्वारेन्टाइनका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको छ । जिल्लामा रहेका तीनै वटा क्षेत्रीय क्वारेन्टाइनलाई उहाँले बिहीबार पीपीए सेट, स्यानिटाइजर, मास्क, ग्लोब्सलगायतका सामग्री हस्तान्तरण गरेका हुन् ।
यस्तै भारतबाट आएका धुस्कुन क्युरेनीका एक स्थानीयवासीलाई क्वारेन्टाइनमा राखिएको छ । भारतबाट आउँदाआउँदै छिमेकीहरुले क्वारेन्टाइनमा राख्न अनुरोध गरेपछि ती युवकलार्ई क्वारेन्टाइनमा पठाइएको हो । रोजगारीका लागि भारत गएका ती युवक हिँड्दै गाउँ आइपुगेका थिए ।