काठमाडौं उपत्यकामा शृंखलाबद्ध चोरीका घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका प्रेम थारूविरुद्ध अदालतमा अभियोगपत्र दायर भएको छ । उनीविरुद्ध हालसम्म ९ जना पीडितले जाहेरी दिएपछि अनुसन्धान सकिएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो ।
प्रहरीका अनुसार उनीमाथि ३ करोड ६ लाख रूपैयाँभन्दा बढी मूल्यको धनमाल चोरी गरेको आरोप छ ।
बाँकेको राप्ती सोनारी गाउँपालिका–३ बेलासपुरका स्थायी बासिन्दा थारूले विभिन्न समयमा सुप्रिम, विकास र सौरभलगायतका नाम प्रयोग गर्दै आफ्नो पहिचान लुकाउने गरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार उनी लामो समयदेखि काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा हुने चोरीका घटनामा सक्रिय थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार थारूलाई पक्राउ गर्ने क्रममा उनले प्रतिरोध गरेपछि प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएको थियो ।
प्रहरीले थारूको साथबाट ७६४ ग्रामभन्दा बढी सुन, १ किलो १५२ ग्राम चाँदी, १५ ग्रामभन्दा बढी हीरा, एक लाख ६३ हजार नेपाली रूपैयाँ, एक हजार १ सयभन्दा बढी अमेरिकी डलर तथा विभिन्न देशका मुद्रा बरामद गरेको जनाएको छ।
बरामद मुद्रामा अमेरिकी डलर, कतारी रियाल, कोरियन वन, इराकी दिनार, साउदी रियाल, चिनियाँ युआन, अस्ट्रेलियन डलर, सिङ्गापुर डलर, बंगलादेशी टाँका, श्रीलंकाली मुद्रा, बहराइनी मुद्रा, भुटानी मुद्रा, अर्जेन्टिनी मुद्रा, टर्किस मुद्रा र भारतीय रूपैयाँसमेत रहेका छन् ।
थारूमाथि करोडौं रूपैयाँ बराबरका चोरीका घटनामा संलग्न रहेको आरोप छ । प्रहरी अनुसन्धानअनुसार बौद्धकी तेन्जिङ डोल्माको घरबाट करिब ८० लाख रूपैयाँ बराबरको धनमाल चोरी भएको थियो । त्यस्तै, भोटेबहालका रामकुमार पण्डितको कोठाबाट पनि करिब ८० लाख रूपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीको भनाइ छ।
नागार्जुनका राममणि ढकालको घरबाट ५८ लाख रूपैयाँभन्दा बढी मूल्यका सामान चोरी भएको आरोप छ भने कीर्तिपुरकी सञ्चिता काप्री लामिछानेको घरबाट २७ लाख रूपैयाँभन्दा बढीको धनमाल चोरी भएको बताइएको छ । बालाजु वनस्थलीकी पवित्रा तामाङको कोठाबाट २१ लाख रूपैयाँभन्दा बढीको चोरी भएको विवरण पनि अनुसन्धानमा समावेश छ । यी सबै घटनामा थारूको संलग्नता रहेको प्रहरीले जनाएको छ ।
थारूले बौद्धस्थित एकै घरबाट एक करोडभन्दा बढीको चोरी गरेको प्रहरीले जनाएको छ । काठमाडौं महानगरपालिका–६ बौद्ध टुसालस्थित रिन्जी लामाको घरमा भएको चोरीको घटनामा पनि थारू संलग्न रहेको प्रहरीको दाबी छ ।
प्रहरीका अनुसार रिन्जीका घरका सदस्य कपडा सुकाउन छतमा गएको छोटो समयमा घरबाट सुनचाँदीका गरगहना चोरी भएका थिए । उक्त घटनामा करिब १ करोड ४ लाख रूपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीको भनाइ छ ।
विद्युत प्राधिकरणका कर्मचारीको घरबाट ३२ लाख बराबरको धनमाल चोरी
काठमाडौं महानगरपालिका–५ का बासिन्दा तथा नेपाल विद्युत् प्राधिकरण जोरपाटी वितरण केन्द्रमा कार्यरत कृष्णप्रसाद आचार्यको घरबाट पनि करिब ३२ लाख रूपैयाँ बराबरको धनमाल चोरी भएको थियो ।
परिवारका सदस्य बाहिर रहेको समयमा आचार्य काममा गएका थिए । पछि घरको ढोका खुला रहेको सूचना पाएर फर्किँदा दराज तोडफोड गरिएको र सुनका गरगहनालगायतका सामान चोरी भएको भेटिएको थियो । घरबाहिर जडान गरिएको सीसीटीभी फुटेजका आधारमा प्रहरीमा उजुरी दिइएको थियो ।
प्रहरीका अनुसार थारू पटके चोर हुन् । थारूविरुद्ध यसअघि पनि प्रहरी वृत्त बौद्धमा चोरीसम्बन्धी मुद्दा चलेको थियो । २०७९ सालमा उनी चोरी मुद्दामा दोषी ठहर भई तीन वर्ष कैद र ६० हजार रूपैयाँ जरिवाना सजाय पाएका व्यक्ति रहेको एसपी भट्टराईले बताए ।
असल चालचलनका आधारमा पेरोल सुविधा पाएपछि उनी २०८२ जेठ २५ गते कारागारबाट छुटेका थिए । तर त्यसपछि पुन: चोरीका घटनामा संलग्न भएको आरोप लागेको छ ।
चोरीको रकमबाट घर, जग्गा र गाडी खरिद गरेको बयान थारूले दिएका छन् । प्रहरीका अनुसार थारूले चोरीबाट प्राप्त रकम प्रयोग गरी बाँकेको कोहलपुरमा दुई कठ्ठा जग्गा खरिद गरेको तथा त्यहाँ साढे तीन तले पक्की घर निर्माण गरेको बयान दिएका छन् ।
उनले करिब ९८ लाख रूपैयाँ खर्च गरेर टोयोटा हाइलक्स गाडी खरिद गरेको र पछि ५५ लाख रूपैयाँमा बिक्री गरेको पनि स्वीकार गरेको प्रहरीको भनाइ छ । चोरीका सामान भारतका सीमावर्ती क्षेत्रमा लगेर बिक्री गर्ने गरेको बयानसमेत उनले दिएका छन् ।
प्रहरीले थारूसँग सम्बन्धित सम्पत्ति, बैंक कारोबार, जग्गा तथा अन्य आर्थिक स्रोतबारे थप अनुसन्धान भइरहेको जनाएको छ । अनुसन्धानका क्रममा अझै अन्य चोरीका घटनासमेत खुल्न सक्ने प्रहरीको अनुमान छ ।
भिडियो सामग्री :