३१ जेठ २०८३, आइतबार

कोरोनाविरुद्ध लड्न चौधरी फाउन्डेसनले गर्‍यो प्रदेश सरकारहरूलाई सहयोग

कोरोनाविरुद्ध लड्न चौधरी फाउन्डेसनले गर्‍यो प्रदेश सरकारहरूलाई सहयोग

नेपालको ठूलो औद्योगिक घरानाको संलग्नता रहेको चौधरी फाउन्डेसनले विभिन्न प्रदेश सरकारलाई कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य उपकरण सहयोग गरेको छ ।

फाउन्डेसनले सुदूरपश्चिम प्रदेशका धनगढी, डडेल्धुरा, दार्चुला र बैतडी जिल्ला अस्पतालमा एन–९५ मास्क, स्यानिटाइजर सहितका व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) र उपचार सामग्री सहयोग गरेको छ ।

कर्णाली प्रदेशका चौरजहारी (रुकुम पश्चिम) र कर्णाली प्रादेशिक अस्पतालमा पनि सुरक्षा सामग्री हस्तान्तरण गरिएको फाउन्डेसनले जनाएको छ । सुरक्षा सामग्री ग्रहण गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सहयोगका लागि फाउन्डेसनप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि सहयोगको अपेक्षा गरेका छन् ।

फाउन्डेसनले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्र्दै भनेको छ, ‘खाडी मुलुक, मलेसिया र भारतमा रोजगारीका लागि जानेको संख्या प्रदेश २ मा ठूलो भएकाले कोरोना संक्रमणको उच्च जोखिममा छ । त्यसैले त्यहाँका नागरिकको सुरक्षामा पनि हाम्रो ध्यान केन्द्रित छ ।’ फाउन्डेसनले प्रदेश २ का मुख्यमन्त्री र सरकारसँग नजिकको समन्वय कायम गरी जनकपुर, वीरगन्ज, सप्तरी, महोत्तरी, रौतहट, सर्लाही, सिरहा अस्पताललाई थप सुरक्षा सामग्री उपलब्ध गराएको छ ।

सहयोग ग्रहणपछि प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले भारतबाट आएका नागरिकका कारण संवेदनशीलता बढेको भन्दै गुणस्तरीय सुरक्षा सामग्री उपलब्ध गराएकोमा फाउन्डेसनप्रति आभार व्यक्त गरेका छन् । ‘अहिलेको विपत्तिका बेला परीक्षण र सुरक्षा सामग्रीको व्यवस्थापन गर्न निकै कठिनाइ भइरहेको थियो । यस्तो बेला एक कदम अघि सरेर चौधरी फाउन्डेसनले नागरिक सुरक्षाका लागि उपलब्ध गराएका यी सामग्रीप्रति आभारी छौं,’ उनले भने ।

अझै पनि मुलुकभरबाट ठूलो संख्यामा सुरक्षा सामग्रीको माग आउने क्रम जारी रहेको फाउन्डेसनले जनाएको छ । ‘हामीले सम्पूर्ण शक्तिका बाबजुद सबै ठाउँमा सामग्री पुर्‍याउन सकेका छैनौं । हाम्रा सीमितताबीच पनि स्वास्थ्य संस्थाहरूको आवश्यकता, पूर्वाधार उपलब्धता र सम्भावित जोखिमलाई ध्यानमा राखेर सकेसम्म धेरै सामग्री पुर्‍याउने प्रयास गरेका छौं,’ विज्ञप्तिमा लेखिएको छ, ‘यही क्रममा नेपाल मेडिकल एसोसियसन, धुलीखेल अस्पताल, सशस्त्र प्रहरी बल मुख्यालयलगायत महत्त्वपूर्ण संस्थाका लागि पनि सुरक्षा सामग्री उपलब्ध गराएका छौं ।’

फाउन्डेसन अध्यक्ष विनोद चौधरीले सामाजिक उत्तरदायित्व बहन गर्दै नागरिक सुरक्षामा थोरै भए पनि योगदान गर्न पाउँदा सन्तोष लागेको बताए । ‘अहिलेको समयमा जसले जहाँबाट सक्छ, त्यहीँबाट कोरोनाविरुद्धको राष्ट्रिय अभियानमा साथ दिनुपर्छ,’ उनले भने, ‘हाम्रो प्रयासमा प्रदेश सरकारहरूको ठूलो सहयोग रह्यो । स्वास्थ्य संवेदनशीलता बुझेर मुख्यमन्त्रीज्यूहरूले देखाउनुभएको समन्वयकारी भूमिकाप्रति हामी आभारी छौं ।’

सबैभन्दा बढी जोखिमयुक्त ३ प्रदेशका स्वास्थ्य संस्थाका लागि सुरक्षा सामग्री वितरण गरिएको भन्दै चौधरीले स्वास्थ्यकर्मीले अब ढुक्कले परीक्षणमा संलग्न हुने अवस्था आएको बताए । ‘हामीले शुरूदेखि नै भन्दै आएका छौं कि हाम्रो पहिलो प्राथमिकता उपचार र परीक्षणमा सक्रिय चिकित्सक र स्वास्थ्यकर्मीको सुरक्षा हो । साथै न्यूनतम उपकरण र पूर्वाधार भएका स्वास्थ्य केन्द्रलाई सबल बनाउने हाम्रो उद्देश्य हो,’ उनले भने ।

फाउन्डेसनले यसअघि बुधवार मात्रै सरकारका स्वास्थ्यमन्त्री माननीय भानुभक्त ढकाललाई १ हजार ‘पीसीआर रिएजेन्ट’ हस्तान्तरण गरेको थियो ।

‘कोरोना भाइरस रोग रोकथाम र उपचारका लागि चौधरी फाउन्डेसनले ठूलो संख्यामा नागरिक आवतजावत हुने भारतसँगका सीमावर्ती प्रदेशमा आफ्नो ध्यान केन्द्रित गरेको छ । यसक्रममा फाउन्डेसनले त्यस्ता स्वास्थ्य केन्द्र छनोट गरेको छ, जहाँ न्यूनतम पूर्वाधार र दक्ष जनशक्ति छन्, त्यस्ता जनशक्तिलाई सहज र निर्भयका साथ स्वास्थ्य उपचारमा उत्प्रेरित गर्नका लागि सुरक्षा सामग्री उपलब्ध गराउनु हाम्रो प्राथमिक उद्देश्य हो,’ फाउन्डेसनको विज्ञप्तिमा लेखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्