०६ असार २०८३, शनिबार

कोरनाका त्रासबीच तरकारीको सहजता

चैत २९, २०७६
कोरनाका त्रासबीच तरकारीको सहजता

काठमाडौँ–१६ वनस्थलीकी शर्मिला थापा अचानक लकडाउनको खबरले त्रसित भइन् । लकडाउन हुनुअगावै दैनिक उपभोग्य खाद्यान्न र ग्यास नपाइने हल्ला चलेपछि उनले त्यसको जोहो गरिसकेकी थिइन् । तर खाद्यान्नभन्दा तरकारी लामो समयसम्म सञ्चय गरेर राख्न नमिल्ने भएकाले त्यसको जोहो कहाँबाट गर्ने भन्ने चिन्ताले उहाँलाई सताउन थालेको थियो ।
 
लकडाउन शुरु भएपछि त्यहाँ नजिकै रहेको नागार्जुन नगरपालिका–१६ स्थित ढुङ्गेधारा मिनी मार्केट सञ्चालनमा आइसकेपछि भने उहाँभित्र भएको त्रास हटेर गयो । उनी भन्छिन्, 'मिनीमार्केटबाट पहिलेदेखि नै तरकारी खरिद गथ्र्याैं, लकडाउनमा पनि सञ्चालन होला भन्ने सोचेकै थिइनँ ।' सामान्य खुद्रा पसलले लकडाउनको मौका छोपेर तरकारीको मूल्य अधिक लिएको भए पनि यहाँका व्यापारीले भने साविककै मूल्यमा बिक्री गरेको थापा बताउनुहुन्छ । 

थापाजस्तै मिनीमार्ट आसपासका स्थानीयवासी बजार सञ्चालनमा आएपछि निकै हर्षित छन् । लकडाउनमा पनि पहिलेजस्तै सहजरूपमा तरकारी खरिद गर्न पाएकाले दैनिकी सामान्य नै रहेको नागार्जुन–१६ का स्थानीय हरिप्रसाद भट्टराई बताउँछन्। सरकारले लकडाउनका समयमा पनि बजार सञ्चालन गर्न दिएपछि आफूहरुलाई निकै राहत मिलेको उनले बताए।
 
बजारका लागि आवश्यक तरकारी यहाँका खुद्रा व्यापारीले कालिमाटी फलफूल तथा तरकारी बजारबाट ल्याउने गरेका छन् । तरकारी ल्याउन उनीहरु बिहान ३ बजे नै बजार पुग्ने गरेका छन् । किसानले कम मूल्यमा तरकारी बिक्री गर्नुपरेकाले कालिमाटीमा पनि सस्तो मूल्यमा खरिद गरिरहेको ढुङ्गेधाराका खुद्रा व्यापारी नवराज सिलवाल बताउनुहुन्छ । 'पहिलेजस्तो लामो समय बजारमा बस्न नपाएपछि समय बिताउन भने सजिलै भएको छ', उनी भन्छन्, 'पहिलेजस्तो सहज स्थिति थियो भने चैतमा तरकारीको मूल्य अधिक हुनुपर्ने हो, तर सहज स्थिति नभएकाले विगतका वर्षभन्दा मूल्य ज्यादै नै कम छ ।'
 
दैनिक चार घण्टा मात्र व्यापार गर्नुपर्ने स्थिति रहेकाले ल्याएको तरकारी धेरै नै बिग्रिएर जाने सिलवालले बताए। जसले गर्दा नाफा वा घाटाको दुवै स्थिति नरहेको उहाँ बताउनुहुन्छ । तर कोभिड–१९ को त्रासबीच पनि खटिएर सेवा दिन पाएकामा उनी निकै हर्षित छन्। उनीजस्तै त्यहाँका अन्य व्यापारीको स्थिति पनि उस्तै छ ।
 
सरकारले दिने राहतको भर पर्नुभन्दा आफ्नै कमाइबाट सन्तुष्टि मिल्ने मिनीमार्केट अर्का व्यापारी सुन्दर कायस्थ बताउँछन्। उनी भन्छन्, 'अहिलेसम्म त व्यापार गरिरहेकै छौँ, पछि के हुने हो टुङ्गो छैन ।' सिन्धुपाल्चोक घर भएका उहाँ लकडाउनका कारण घर फर्कन नपाएपछि व्यापार गर्नुबाहेक आफूसँग अन्य विकल्प नरहेको बताउनुहुन्छ । 'आफ्नै गाउँ जान्थ्यौँ त के खाने भन्ने चिन्ता हुँदैनथ्यो, तर यहाँ आफैँले नकमाइ सुखै छैन', उनले दुखेसो पोख्नुभयो ।

सरकारले तोकेबमोजिम सामाजिक दूरी कायम राख्न यहाँका स्थानीयवासीको विशेष भूमिका रहेकाले त्रसित हुनुपर्ने अवस्था नरहेको यहाँका सञ्चालक रैलेन लामा बताउँछन् । 'कोरोनाको सङ्क्रमणबाट जोगिन विशेष संयन्त्र अपनाएकाले बजार बन्द गर्नुपर्ने स्थिति छैन', उनले भने।
 
सञ्चालित तरकारी पसल बन्द गर्ने भने पनि स्थानीयवासीको सुविधालाई मध्यनजर गर्दै पसल सञ्चालनमा ल्याएको नागार्जुनका स्थानीयवासी टोनेल कर्माचार्य बताउँछन् । 'टोलका केही युवाको संलग्नतामा स्थानीयवासीलाई कोरोनाको माहामारीबाट बचाउन यहाँ आउने ग्राहकले सरकारले तोकेको नियम पालना गरे/नगरेको अनुगमन गर्ने काम गरिरहेका छौँ', कर्माचार्य भन्छन्। सबै जनतामा कोरोना भाइरसबाट बच्ने चेतनाको विकास भएकाले कडाइ गरिहाल्नुपर्ने अवस्था नरहेको उनी बताउँछन् । तर बजारमा स–साना बालबालिका र वृद्धवृद्धालाई सङ्क्रमणबाट बचाउन गाह्रो हुने भएकाले बजारमा नल्याउने सबैलाई अनुरोध गरिरहेको उनको भनाइ छ । मीना घोरसाइने, रासस

कमेन्ट गर्नुहोस्