
कोरोना भाइरसका शंकास्पद संक्रमितलाई राख्न बनाइएको क्वारेन्टाइनको अवस्थाबारे सरकारले अनुगमन थालेको छ।
स्थानीय तह तथा अन्य निकायले बनाएको क्वारेन्टाइनको मापदण्ड पुगे नपुगेकोबारे सरकारले स्थलगत अनुगमन तथा सहजिकरण थालेको हो।सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले शनिबार मध्यान्ह पशुपतिको धर्मशालामा निर्मित क्वारेन्टाइनकोअनुगमन गरे।
विदेशबाट आएका व्यक्ति तथा शंकास्पद अन्य व्यक्तिलाई कोरोना रोगबाट संक्रमण हुन नदिन सरकारले बनाएको ‘क्वारेन्टाइन व्यवस्थापन तथा सञ्चालन कार्यविधि अनुसार’ मापदण्ड पूरा भए नभएकोबारे जानकारी लिन स्थलगत अनुगमन शुरु गरिएको मन्त्री मानन्धरले जानकारी दिए।
पशुपतिको धर्मशालामा चारतारे स्तरको क्वारेन्टाइन तयारी अवस्थामा रहेको पनि मन्त्री मानन्धरले जानकारी दिए। क्वारेन्टाइनमा ३५ बेड तयारी अवस्थामा रहेको र थप ३५ बेड निर्माणको तयारी अन्तिम चरणमा रहेको छ।
मन्त्रिपरिषद्को गत चैत्र १६ गतेको बैठकले सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतलाई अनुगमन र सहजीकरणको जिम्मेवारी दिएको थियो। पशुपतिको धर्मशालामा रहेको क्वारेन्टाइनमा एक पटकमा ७० जनाको व्यवस्थापन गर्न सकिने गरी तयारी भएको र सरकारले आवश्यक सबै सहजीकरण गरिरहेको मन्त्री मानन्धरले जानकारी दिए।
सरकारले नागरिकको जीवन रक्षाका लागि हरतरहको प्रयास जारी राखेको बताउँदै मन्त्री मानन्धरले सरकारको योजनामा आम नागरिकले साथ दिएको भन्दै खुसी व्यक्त गरे। मन्त्री मानन्धरले जनताको जीवन रक्षाका लागि सरकारले सबै तयारी पूरा गरेको बताउँदै देशभरका क्वारेन्टाइनमा मापदण्ड अनुसारकै सुविधा दिलाइने प्रतिवद्वता जनाए।
मन्त्री मानन्धरले आपतकालीन अवस्था आइपरे पूर्वतयारीस्वरुप देशभर व्यवस्थित क्वारेन्टाइन निर्माणलाई तीब्रता दिइएको बताउँदै उपत्यकाको सवालमा भइरहेको तयारीबारे आइतबारसम्ममा अनुगमन सक्ने जानकारी दिए।
आइतबार ललितपुरको स्टाफ कलेज र अन्य केही स्थानको क्वारेन्टाइनको अवस्थाका बारेमा स्थलगत अनुगमन गर्ने मन्त्री मानन्धरले जानकारी दिए। सम्भावित संक्रमितका लागि निर्माण गरिने क्वारेन्टाइनमा सबै सुविधा कायम गरिने बताउँदै मन्त्री मानन्धरले यसका लागि सबैको सहयोग आवश्यक भएको बताए।
सहरी विकास मन्त्रालयका सहसचिव नवराज प्याकुरेलले उपत्यकाका क्वारेन्टाइनको वास्तविक अवस्था र मापदण्ड अनुसार निर्माण भए नभएका बारे अनुगमन शुरु भएको जानकारी दिए। क्वारेन्टाइन विश्व स्वास्थ्य संगठनले तोके बमोजिम तथा नेपाल सरकारले तय गरेको मापदण्ड अनुसारकै रहेको पशुपति क्षेत्र विकास कोषका निर्देशक डा धनश्याम खतिवडाले जानकारी दिए।