०५ असार २०८३, शुक्रबार

वीरगञ्जका कोरोना संक्रमित : ३ महिनाअघि नेपाल आएर विभिन्न मस्जिदमा घुमफिर

बैशाख १, २०७७
वीरगञ्जका कोरोना संक्रमित : ३ महिनाअघि नेपाल आएर विभिन्न मस्जिदमा घुमफिर
प्रतिकात्मक तस्वीर

पर्साको वीरगञ्जमा ३ जना भारतीय नागरिकमा कोरोना संक्रमण पाइएपछि स्थानीय प्रशासनले वीरगञ्ज महानगरपालिका–२ छपकैयालाई पूर्णरुपमा शिलबन्द गरेको छ ।

छपकैयास्थित मस्जिदमा रहेका व्यक्तिमा कोरोना ‘पोजिटिभ’ देखिएकाले सम्पूर्ण क्षेत्र नै पूर्णरुपमा शिलबन्द गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) गंगा पन्तले बताइन् । 

एसपी पन्तले लोकान्तरसँग भनिन्, ‘जुन मस्जिदमा उहाँहरू बस्नुभएको थियो, त्यो मस्जिदसहित पूरै वडा नम्बर २ लाई नै शिलबन्द गरिएको छ ।’ वडा न कोही आउन सक्ने, न त कोही जान सक्ने गरी शिलबन्द गरिएको छ ।

संक्रमित व्यक्ति कहाँबाट वीरगञ्ज आए, क–कसको सम्पर्कमा पुगे सबै अनुसन्धान गरेर थप कोरोना जाँच गर्ने तयारी भइरहेको एसपी पन्तले बताइन् । उनका अनुसार संक्रमित भएका तीनै जना व्यक्ति भारतीय नागरिक रहेको खुलेको छ ।

‘उनीहरू ३ महिनाअघि नै नेपाल आएको देखिन्छ,’ एसपी पन्तले लोकान्तरसँग भनिन्, ‘नेपाल आएर नेपालका विभिन्न जिल्लामा रहेका मस्जिदमा घुमेको पाइएको छ ।’ ती व्यक्ति मुस्लिम धर्म प्रचारक जमाती भएका कारण नेपालका सुनसरी, सप्तरी, बारा, पर्सासहित विभिन्न जिल्लाका मस्जिदमा घुमेको कुरा संक्रमितले स्वीकार गरिसकेका छन् ।

‘खास गरेर अहिले हामीले पछिल्लो २१ दिनमा उनीहरूको ट्राभल हिस्ट्री कस्तो छ भन्ने कुराको ट्रेस गर्नेतर्फ केन्द्रित भएका छौं,’ एसपी पन्तले लोकान्तरसँग भनिन्, ‘उहाँहरू पछिल्लो २१ दिनमा मात्रै पर्साका विभिन्न ठाउँमा घुम्नु भएको छ, विभिन्न व्यक्तिलाई भेट्नुभएको छ ।’ जिल्ला सदरमुकाम वीरगञ्जस्थित मस्जिदमा बसेका बेला ती व्यक्तिको सम्पर्कमा आएका १६ जनाको पहिलो चरणमा पहिचान गरिएको उनले बताइन् ।

‘नेपालमा लकडाउन घोषणा हुनुभन्दा ४ दिनअघि मात्रै संक्रमित भएका ३ जनामध्ये २ जना वीरगञ्जको नजिकै रहेको नाकामार्फत भारतको रक्सौल गएको देखिएको छ,’ एसपी पन्तले भनिन्, ‘भारतको दिल्लीस्थित निजामुद्दिनमा भएको तबलिगी जमातमा उनीहरू गएका थिए वा थिएनन् भन्ने कुराको अनुसन्धान गर्न बाँकी नै रहेको छ ।’

संक्रमित भएका तीनै जनालाई ४ दिनअघि नै नार्यनै अस्पतालको आइसोलेसनमा भर्ना गरेर उपचार जारी छ । सम्पर्कमा रहेका अन्य व्यक्तिलाई होम क्वारेन्टाइनमा राखिएको छ । संक्रमित भएका व्यक्तिसंग नियमित सम्पर्क गरेर थप अनुसन्धान शुरू गरिएको एसपी पन्तले बताइन् । 

पर्साको वीरगञ्ज महानगरपालिका–२ छपकैयास्थित एउटा मस्जिदमा रहेका २१ जना शंकास्पद व्यक्तिको नमूना लिइएको थियो । त्यसमध्ये ३७, ५५ र ४४ वर्षीय ३ जना पुरुषलाई कोरोनाको संक्रमण ‘पोजिटिभ’ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्