
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता तथा राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले एक वर्षको पारिश्रमिक कोभिड १९ रोकथाम तथा नियन्त्रण कोष र राहतका लागि खर्च गर्ने बताएका छन् ।
सोमवार सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै श्रेष्ठले राष्ट्रिय सभा सदस्यको २ महिनाको पारिश्रमिक कोषमा र बाँकी विपन्न वर्ग केन्द्रित राहत प्याकेजका लागि दिने घोषणा गरेका हुन् ।
'हामी अहिले कोभिड-१९ र उत्पन्न संकटको सामना गरिरहेका छौं, यसबेला एकताबध्द भई आ-आफ्नो ठाँउबाट भूमिका खेल्नु जरुरी छ,' श्रेष्ठले लेखेका छन्, 'यस स्थितिमा मैले राष्ट्रिय सभा सदस्यको एक वर्षको पारिश्रमिक मध्ये २ महिनाको कोभिड-१९ कोष र बाँकी विपन्न वर्ग केन्दृत आर्थिक राहात प्याकेजका लागि दिने घोषणा गर्दछु।'
उनले आफू वर्षौं सांसद नहुँदा पनि घरभाडा, गाडी र तेलखर्च पूर्व पार्टीले दिँदै आएको बताए ।
'यस अघि वर्षौं साँसद नहुँदा घरभाडा,गाडी र तेलखर्च पूर्व पार्टीले दिँदै आएको थियो,' उनले थप लेखेका छन्, 'खानासहितको सामान्य खर्च दाजुभाई र साथीहरुले । घुस र भ्रष्टाचारको शत्रु हुँ । दैनिक जीवन चलाउन त परको कुरा,निर्वाचनमा समेत ठुला कर्पोरेट हाउससँग चन्दा नलिने नीति सार्वजनिक गरी लागू गर्दै आएको छु ।'