मुलुकमा जारी बन्दाबन्दीको मौका छोपेर बाँकेको राप्तीसोनारी गाउँपालिकाअन्तर्गत पर्ने खोलाबाट नदीजन्य पदार्थको अवैध उत्खनन भइरहेको छ ।
राप्तीसोनारी ३ खैरेनी र साइपुर नाका, वडा नम्बर ४ को लालपुर तथा वडा नम्बर ५ का आलिनगर र ललै नाकाबाट नदीजन्य पदार्थको अवैध रुपमा निकासी भइरहेको छ ।
वडा नम्बर २ का मुगुवा, माथेवास र मदुई नाकाबाट पनि बन्दाबन्दीको मौका छोपेर खुलेआम अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् भइरहेको स्थानीय हेमन्त चौधरीले बताए ।
राप्ती नदीसँगै जोडिएको स्थानीय भुवरभवानी सामुदायिक वन क्षेत्रबाट समेत अवैधरूपमा ढुंगा उत्खनन् भइरहेको स्थानीय अगुवा विश्वसागर परियारको भनाइ छ ।
राप्ती नदीबाट दैनिक सयौं घनमिटर ढुंगा अवैध रुपमा उत्खनन् हुँदा बस्ती असुरक्षित हुनाका साथै स्थानीय सरकारलाई राजस्वमा समेत घाटा भएको पूर्व सभासद् एवं स्थानीय अगुवा पट्टुु थारु चिन्ता व्यक्त गर्छन् ।
गाउँपालिकाले यस वर्ष नदीजन्य पदार्थ निकासीका लागि ठेक्का लगाउन नसकेका कारण अमानतमा निकासी गर्ने निर्णय गरेको छ । कोभिड–१९ को संक्रमण रोकथामका लागि बन्दाबन्दी जारी भएपछि नदीजन्य पदार्थ निकासी रोकिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए ।
उनले नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न गाउँपालिकाले नियमित अनुगमन गरे पनि अहिले कोरोना भाइरस रोकथामको अभियानमा गाउँपालिका र सबै जनप्रतिनिधि सक्रिय हुँदा कहीँकतै अवैध निकासी भएको हुन सक्ने बताउँदै यस्ता अवैध कार्य रोकथाममा गाउँपालिकालाई सहयोग गर्न स्थानीयलार्ई आग्रह गरे ।
एक टिप्पर नदीजन्य पदार्थ उत्खननका लागि ४ हजार रुपैयाँ रोयल्टी तिर्नुपर्ने भए पनि बन्दाबन्दीको मौका छोपेर रातको समयमा अवैध उत्खनन् हुँदा प्रत्यक्ष रुपमा गाउँपालिकालाई राजस्व घाटा भएको छ । अघिल्लो आर्थिक वर्षमा गाउँपालिकाले १४ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेकामा यस वर्ष ४ पटकसम्म आह्वान गरिएको बोलपत्र रद्द भएपछि नदीजन्य पदार्थ अमानतमा दिने निर्णय गरिएको छ ।
गाउँपालिका अध्यक्ष लाहुराम थारुले आफूहरू कोरोना भाइरस महामारी फैलिएका समयमा जनतालाई राहत दिनेतर्फ लागेकाले नियमित अनुगमन गर्न नसकेपनि अवैध उत्खनन्मा रोक लगाउन प्रहरीलाई खबर गरिएको बताए ।