
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले नेपाल–भारत आवतजावत बन्द गरेका बेला भारतीयहरू नेपाल प्रवेश गर्न खोजेपछि झडप भएको छ ।
सिरहाको सिरहा नगरपालिका–१९ स्थित सहोर्वा नाकाबाट भारतीयहरूलाई प्रवेश गर्न नदिएपछि प्रहरीमाथि ढुंगामुढा भएको सिरहाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सरोज गुरागाईंले बताए ।
‘भारतको मधुबनी बस्ने ज्ञानीकुमार यादव बिहान ११ बजेतिर ५ पोका दूध लिएर लकडाउन उल्लंघन गर्दै नेपालभित्र प्रवेश गर्न खोजेका थिए । सीमा नाकामा रहेका सशस्त्र प्रहरीले उनलाई फिर्ता पठाए,’ सीडीओ गुरागाईंले भने, ‘केही समयपछि ज्ञानीका छोरा मनोजकुमार यादवसहित २५ जना मान्छे आएर प्रहरीमाथि ढुंगामुढा गरे ।’
सीमा नाकामा खटिएका सशस्त्र प्रहरीले लाठीचार्ज गर्दै भारतीयलाई सीमा क्षेत्रबाट हटाएको उनले बताए । घटनामा सशस्त्र प्रहरी जवान राजनकुमार चौधरी र भारतीय नागरिक ज्ञानीका छोरा मनोज घाइते भएका छन् ।
सीमा क्षेत्रको अवस्था अहिले सामान्य रहेको सीडीओ गुरागाईंले बताए ।