
कैलालीमा १ युवतीलाई बलात्कार गरेको घटनामा प्रहरीले मंगलवार ४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा कैलालीको गौरीगंगा नगरपालिका ४ का २० वर्षीय नरेश नेपाली, २१ वर्षीय अर्जुन सावद, २० वर्षीय निर्मल चौधरी र २४ वर्षीय नरेश भट्ट रहेका छन् ।
गौरीगंगा नगरपालिका १ चनौरामा रहेका आफन्तलाई भेटेर गए राति साढे १२ बजे घर फर्किदै गरेकी युवतीलाई खुरखुरिया नजिकैबाट नियन्त्रणमा लिई बलात्कार गरेको प्रहरीले जनाएको छ ।
खुरखुरिया नजिकै पुग्दा मोटरसाइकलमा आएका ४ जनाको समुहले बाटो छेकी धारिलो हतियार देखाई पीडितसँगै रहेका ३ जनालाई कुटपिट गरेको र पीडितलाई सडकबाट झण्डै १ मिटर टाढा घिसारी लगेर जबरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक दक्ष बस्नेतले जानकारी दिए ।
ईलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी नायव उपरीक्षक ज्ञान बहादुर विष्टको कमाण्डमा गएको टोलीले संलग्न व्यक्तिहरुलाई पक्राउ गर्नुका साथै घटनामा प्रयोग भएको धारिलो हतियार हसिया र मोटरसाइकल समेत बरामद गरेको जनाइएको छ ।