
काभ्रेका दुई युवामा र्यापिड टेस्ट गर्दा एन्टीबडी पोजेटिभ देखिएपछि स्थानीय प्रशासनले लकडाउनमा कडाइ गरेको छ।
लकडाउन अघि नै दुबई र भारतबाट आएका ती युवमामा एन्टीबडी पोजेटिभ देखिएपछि मंगलबार धुलिखेल अस्पताल ल्याइएको छ। उनीहरुमा पीसीआर विधिबाट परीक्षण गर्ने तयारी छ।
यो घटनापछि जिल्ला प्रशासन कार्यालय काभ्रेले पैदलयात्रीलाई समेत जिल्ला प्रवेशमा रोक लगाएको छ। मन्त्रिपरिषद्को बैठकले यसअघि नै एक प्रदेशबाट अर्काे प्रदेश, एक जिल्लाबाट अर्काे जिल्ला र एक स्थानीय तहबाट अर्काे स्थानीय तहमा हुने आवजावतलाई नियन्त्रण गर्ने निर्णय गरिसकेको थियो। तर अत्यआवश्यक हिँडडुलमा प्रतिबन्ध थिएन।
प्रशासनले मंगलबार सूचना जारी गरेर छिमेकी जिल्लाबाट पैदल नै जिल्ला प्रवेश गर्नेलाई पूर्णरुपमा निषेध गर्ने निर्णय गरेको उल्लेख छ।
त्यस्तै, जिल्लाभित्र अनावश्यक रुपमा हिँड्डुल गर्नेलाई नियन्त्रणमा लिइने समेत सूचनामा उल्लेख छ।