२३ असार २०८३, मंगलबार

भारतबाट आएकाहरू क्वारेन्टाइनमा नबसी मदिरा पसलमा मस्त

बैशाख ३, २०७७
भारतबाट आएकाहरू क्वारेन्टाइनमा नबसी मदिरा पसलमा मस्त
प्रतिकात्मक तस्वीर

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गरेको ३ साता बढी लामो बन्दाबन्दीमा दैलेख जिल्ला सदरमुकामबाहेक स्थानीय तहका अधिकांश पसल खुलेका छन् । 

सरकारले बन्दाबन्दीको पूर्ण पालना गर्न सूचना जारी गरे पनि सूचनाको बेवास्ता गर्दै गाउँका पसलहरू चलिरहेको छ ।

जिल्लाका ११ स्थानीय तहका मुकामबाहेक गाउँका फुटकर पसलमा मानिसहरूको भीड लाग्ने गरेको छ । गाउँका फुटकर पसलेले निर्धक्क व्यापार व्यवसाय गरिरहेका छन् ।

दैलेख जिल्लाको सदरमुकाम समेत रहेको नारायण नगरपालिकाले गाउँका पसल खुला भएपछि सबै फुटकर पसल तथा होटललाई बन्द गर्न आग्रह गर्दै पत्र थमाएको छ । वडा नम्बर १ मा रहेको सदरमुकाम बाहेकका अन्य १० वडाका वडाध्यक्षलाई परिचालन गरी पसलमै पुगी पत्र बुझाइएको नगर प्रमुख रत्नबहादुर खड्काले जानकारी दिए ।

उनले भने, ‘हामीले नगरका १० वटै वडाध्यक्षलाई गाउँका फुटकर पसलसमेत बन्द गर्न पत्र काटेर खटाएका छौं । अन्तिम पटक पत्रद्वारा आग्रह गरिएको हो । अटेरी गरी खुला गरे पसल नै सिल गरिने छ ।’

निर्वाचन क्षेत्र–२ को दुल्लु नगरपालिकामा समस्या देखिएकाले बन्दाबन्दीलाई कडा पारिने नगर प्रमुख घनश्याम भण्डारीले बताए । गाउँका पसलहरू खुला हुँदा बन्द गर्ने अभियान अगाडि बढाइने आठबिस नगर प्रमुख खड्गराज उपाध्यायले बताए ।

साना तथा फुटकर पसल खुला हुँदा कोरोना भाइरस फैलिने सम्भावना देखिएपछि सावधानी अपनाउन आफ्नो गाउँपालिकामा सहुलियत पसल सञ्चालन गरिएको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वलीले जानकारी दिए ।

‘हामीले स्थानीय जनताका लागि सहुलियत पसल हरेक वडामा सञ्चालन गरेका छौं, त्यहाँ कोरोना भाइरसको संक्रमण रोक्न सबै नियम पालना गरिएको छ । सहुलियत पसलबाहेक अन्य पसलहरू खुला भएको जानकारी पाए कारबाही गरिने छ,’ उनले भने । 

महामारीमा सरकारले कोरोना रोकथामका लागि गरेको बन्दाबन्दीलाई पूर्ण पालना गर्न सबै व्यापारीलाई पसल बन्द गरी सहयोग गरिदिन आग्रह गरिएको दैलेख उद्योग वाणिज्य संघका अध्यक्ष कुलबहादुर विकले बताए । उनले भने, ‘कतै भूलवश गाउँमा पसलहरू खुल्ला भएका होलान् ती पसललाई हामी हाम्रो माध्यमबाट बन्द गर्न लगाउँछौं ।’

भारतबाट आएका मानिसहरू क्वारेन्टाइनमा बस्नुको साटो स्थानीय पसलहरुमा मदिरा सेवन गरेका र तास खेलेका भेटिने गरेको महाबु–१ का शिक्षक जंगबहादुर थापाले बताए । सम्झाउँदा उल्टो आफूलाई गाली गर्ने गरेको उनको भनाइ छ । ‘स्थानीय तहका मुकामबाहेक अन्य गाउँमा सायद यस्तै हालत छ, सरकारका लागि बन्दाबन्दी मान्नु पर्ने जस्तो बुझाइ हरेकमा छ, त्यसैले सूक्ष्म अनुगमन गर्न जरुरी छ,’ उनले भने ।

अधिकांश गाउँका पसलमा बस्ने, गोप्यरूपमा तास खेल्ने र त्यो पनि नभए हुल बाँधेर खोलामा आउने गरेको भैरवी–१ कर्णबहादुर कार्कीले बताए । ‘मैले खोलामा माछा मार्न थालेको २० वर्ष भयो । मेरो घर भैरवी र महाबुको सङ्गममा छ तर खोलामा मानिसको यति ठूलो भीड अहिलेसम्म देखेको थिएन, भीड देख्दा मलाई अचम्म लागेको छ,’ उनले भने । – पुरुषोत्तम थापा/रासस

salt training

कमेन्ट गर्नुहोस्