
पोल्यान्डको लोद्जमा तीव्र गतिमा आएको एक कार सडकको बीचमा रहेको राउन्डअबाउटमा ठोकिएर हावामा उडेको रोमाञ्चक भिडियो सार्वजनिक भएको छ ।
सेतो रंगको सुजुकी स्विफ्ट कार आइतवार साँझ ६ बजेतिर ठोकिएर उडेपछि एउटा रुखलाई चिर्दै कब्रिस्तानको भवनमा बजारिएको थियो ।
बजारिएपछि कारमा आगो लाग्यो र त्यो पूरै नष्ट भयो । तर त्यसमा रहेका ४१ वर्षीय चालक होशमै रहे अनि अग्निनियन्त्रकहरूले उनलाई कारबाट बाहिर निकाले ।
उनलाई सामान्य चोटपटक लागेपछि अस्पताल लगिएको छ । उनको सासबाट रक्सीको गन्ध आएको प्रहरीको भनाइ छ तर उनले मापसे गरेर गाडी चलाएका हुन् कि हैनन् भन्ने पुष्टि गर्नका लागि रगत जाँच गर्नुपर्ने प्रहरीको भनाइ छ ।
सीसीटीभी फूटेजमा कार द्रुत गतिमा राउन्डअबाउटमा आइरहेको देखिन्छ ।
चालकले गति बढाउँदा राउन्डअबाउट देख्दैनन् र त्यसमा लगेर ठोकाउँछन् ।
अनि गाडी हावामा उड्छ र राउन्डअबाउटलाई पार गरी कब्रिस्तानमा बजारिन्छ ।
कारको अग्रभाग पूर्ण रूपमा क्षतिग्रस्त भएको देखिन्छ ।