२६ जेठ २०८३, मंगलबार

पूर्वराजालाई विश्वप्रकाशको चुनौती, ‘रेडकार्ड पाएकोले एल्लो कार्डलाई गिज्याउने ?’

कात्तिक २०, २०७४
पूर्वराजालाई विश्वप्रकाशको चुनौती, ‘रेडकार्ड पाएकोले एल्लो कार्डलाई गिज्याउने ?’
काठमाडौं, ७ पुस — नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश शर्माले पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लो अभिव्यक्तिलाई ‘रातो कार्ड’ पाएर खेल मैदानबाट बाहिरिएको खेलाडीले मैदानमै खेलिरहेको खेलाडीले ‘पहेंलो कार्ड’ पायो भनेर गिज्याउन खोजेको संज्ञा दिएका छन् ।

उनले पूर्वराजाको विज्ञप्ति एसएसलीमा अनुत्तीर्ण विद्यार्थीले पीएचडीमा संघर्षरत विद्यार्थीलाई पाठ सिकाउन खोजेजस्तो भएको समेत टिप्पणी गरे ।  पूर्वराजाको विज्ञप्तिप्रति लोकान्तरसँग कुरा गर्दै कांग्रेस नेता शर्माले यस्तो प्रतिक्रिया दिएका हुन् । कांग्रेस केन्द्रीय सदस्य शर्माले दिएको प्रतिक्रिया जस्ताको तस्तै:

सामाजिक सञ्जाल मार्फत पूर्वराजाको विज्ञप्ति मैले पनि पढे । राजाहरू अस्थायी हुन्, स्थायी त मुलुकका जनता हुन् । नागरिक नेतृत्व (राजनीतिक नेतृत्व)ले परिवर्तनलाई पहिले संस्थागत गर्नुपर्छ । राजनीतिक परिवर्तनलाई संस्थागत गर्न गाम्भीर्य नदेखाउँदा प्रतिगमनको मनोविज्ञानले शिर उठाउने खतरा रहन्छ ।

पूर्वराजाको विज्ञप्ति धमिलो पानीमा माछा मार्न सकिन्छ कि भनेर गरेको कल्पना र दिवास्वप्न हो । यो अनौठो कुरा पनि भएन । राजनीतिक नेतृत्वले पूर्वराजालाई शब्दबाट जवाफ दिने होइन, व्यवहारबाट जवाफ फर्काउनुपर्छ । राजनीतिक दलहरूले गणतन्त्र सुदृढ गर्न एकीकृत ढंगले व्यवहारबाट जवाफ दिनुपर्छ ।

पूर्वराजाको अभिव्यक्तिले गणतन्त्रलाई कमजोर बनाएको होइन, गणतन्त्रमा उनीहरूले पनि आफ्नो विचार राख्न पाउँछन् भन्ने कुराको पुष्टि हो । गणतन्त्रको ट्युसन पढाउने काम पूर्वराजाले गर्न आवश्यक छैन । यो त एसएसलीमा अनुत्तीर्ण विद्यार्थीले पीएचडी गर्दै गरेको विद्यार्थीमाथि प्रश्न उठाए जस्तो भयो ।

पूर्वराजा इतिहासको कालखण्डमा रातो कार्ड खाएर मैदानबाट बाहिरिइसकेका छन्, खेल मैदानभित्र रहेको खेलाडीले पहेंलो कार्ड पायो भनेर उनले गिज्याउनुको अर्थ छैन् । खेललाई सुधार गरेर निर्णय आफ्नो पक्षमा पार्न खेलाडीहरू मैदानभित्र संघर्ष गरिरहेका छन् ।

पूर्वराजाको छटपटीलाइ लिएर शीर्ष नेतृत्वले जवाफ फर्काउनु पनि पर्दैन, पूर्वराजाको लागि हामी जस्ताले जवाफ दिएपनि पुग्छ । गणतन्त्रलाई उल्टाउने दिवास्वप्न नदेख्न म पूर्वराजा ज्ञानेन्द्रलाई सुझाव दिन चाहन्छु ।

salt training

कमेन्ट गर्नुहोस्