
जर्मनीको एक प्रमुख पत्रिकाले कोरोनाभाइरसबाट पुगेको क्षतिका लागि चीनले १६२ अर्ब डलर क्षतिपूर्ति दिनुपर्ने भनी बिल निकालेपछि चीन आक्रोशित भएको छ ।
अमेरिका, फ्रान्स र बेलायतपछि अब जर्मनीले कोरोनाभाइरसजनित आक्रोश चीनमाथि पोख्न थालेको छ । भाइरसको मूल स्रोत कुन हो भनी अझैसम्म खुल्न सकेको छैन तर बेइजिङले संक्रमणको खबर लुकाएको र संकटको सही सूचना नदिएको आरोप लाग्ने गरेको छ ।
शनिवार अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरस महाव्याधि संसारमा चीनले जानीजानी फैलाएको हो भने त्यसको परिणाम भोग्न ऊ तयार रहनुपर्ने चेतावनी दिएका थिए ।
उनले चिनियाँहरू लज्जान्वित भएका र कोरोनाभाइरस भूलवश नियन्त्रणबाहिर गएको हो कि जानीजानी फैलाइएको हो भन्ने मुख्य प्रश्न भएको बताए ।
यसैबीच कोरोना संक्रमण शुरू भएको वुहान शहरले भाइरसका कारण मारिएका मानिसको संख्यामा एक्कासि ५० प्रतिशतले बढाएपछि झनै शंका उत्पन्न भएको छ ।
अमेरिकासँगै बेलायतका जासूसी संस्थाहरूले पनि वुहानको सत्यतथ्उ जाँचबुझ गर्ने बताएका छन् ।
त्यसैक्रममा जर्मनीको सबभन्दा लोकप्रिय ट्याब्लोइड पत्रिका बिल्डले क्षतिपूर्तिका लागि १६२ अर्ब डलरको बिल प्रस्तुत गरेर चीनले जर्मनीलाई त्यति रकम तिर्नुपर्ने सुझाव दिएको छ ।
चीनले चाहिँ यस्ता बिलहरूले जातिद्वेषी र राष्ट्रवादीहरूको मनोबल बढाउने प्रतिक्रिया दिएको छ ।