
कोरोनाभाइरस महाव्याधिविरुद्ध समन्वयात्मक तरिकाले लड्नका लागि विश्व स्वास्थ्य संगठनलाई बलियो बनाउनुपर्ने भनी जी२० समूहका स्वास्थ्यमन्त्रीहरूले तयार पारेको संयुक्त बयानलाई अमेरिकाले हप्काएर प्रकाशन गर्न नदिएको बताइएको छ ।
अमेरिकी हस्तक्षेपपछि विस्तृत अनुच्छेद सहितको लामो बयानको साटो स्वास्थ्यमन्त्रीहरूले सानो वक्तव्य निकालेर संसारले गरेको महाव्याधिको व्यवस्थापनमा कमजोरीहरू रहेको उल्लेख गरे ।
बयानमा सहमति नजनाइनुले अमेरिका र चीनबीचको वैश्विक असहमति जाहेर हुनका लागि महाव्याधि एक मञ्च बनेको देखिएको छ । अन्य देश चाहिँ यी दुई देशमध्ये एकको पक्ष लिन बाध्य भएका छन् ।
विश्व स्वास्थ्य संगठन चीनपरस्त भएको आरोप लगाउँदै अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले संगठनलाई दिँदै आएको फन्ड रोकेका छन् । कोभिड–१९ को उत्पत्तिका विषयमा चीनलाई संगठनले चुनौती नदिएको ट्रम्पको धारणा छ ।
जी२० समूहका राष्ट्रहरूको स्वास्थ्यमन्त्री सम्मेलनको भर्चुअल आतिथ्य गरिरहेका साउदी अरबका स्वास्थ्यमन्त्री तौफि अल–राबियाले आइतवार गरिने भनेको पत्रकार सम्मेलन अचानक रद्द गरे । अमेरिकाको फोन आएपछि उनले आफ्नै देशमा कोरोनाभाइरस टास्कफोर्सको बैठकमा तत्कालै सहभागी हुनुपर्ने बताउँदै पत्रकार सम्मेलन रद्द गरेका थिए ।