२४ जेठ २०८३, आइतबार

डी–डे समारोहमा युरोपको आप्रवासन नीतिमाथि अमेरिकी रक्षा मन्त्रीको आलोचना

जेठ २४, २०८३
काठमाडौं
डी–डे समारोहमा युरोपको आप्रवासन नीतिमाथि अमेरिकी रक्षा मन्त्रीको आलोचना

फ्रान्समा आयोजित डी–डेको ८२ औं वार्षिकोत्सव समारोहमा अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले युरोपेली मुलुकहरूको आप्रवासन नीतिको आलोचना गरेका छन् । 

उनले युरोपका विभिन्न समुद्री तटमा आप्रवासीहरूको बढ्दो आगमनलाई ‘आक्रमण’को संज्ञा दिँदै त्यसलाई रोक्न युरोपेली देशहरूले प्रभावकारी कदम चाल्नुपर्ने बताएका हुन् ।

नर्मन्डीमा आयोजित कार्यक्रममा बोल्दै हेगसेथले स्पेन, इटाली, ग्रीस र बुल्गेरियाका समुद्री तटहरूमा डुंगामार्फत आप्रवासीहरू आइरहेको उल्लेख गर्दै युरोपेली राजधानीहरूले यस अवस्थाबारे कहिले गम्भीर कदम चाल्ने भनी प्रश्न गरेका छन् ।

सन् १९४४ मा नाजी जर्मनीको नियन्त्रणमा रहेको युरोपलाई मुक्त गराउन मित्रराष्ट्रका सेनाले नर्मन्डीमा अवतरण गरेको ऐतिहासिक घटनाको स्मरणमा आयोजित समारोहमा उनले स्वतन्त्रताको रक्षा निरन्तर प्रयासबाट मात्रै सम्भव हुने बताएका थिए ।

हेगसेथको अभिव्यक्ति ट्रम्प प्रशासनका उच्च अधिकारीहरूले युरोपको आप्रवासन नीतिमाथि गरेका पछिल्ला आलोचनामध्ये एक हो । यसअघि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि बेलायतमा भएको एक हत्या घटनालाई आप्रवासी संकटसँग जोडेर टिप्पणी गरेका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि विगतमा युरोपेली देशहरूको आप्रवासन नीतिको आलोचना गर्दै अनियन्त्रित आप्रवासनका कारण युरोप समस्यामा परेको बताएका थिए ।

युरोपमा पछिल्ला वर्षहरूमा आप्रवासन प्रमुख राजनीतिक मुद्दाका रूपमा स्थापित भएको छ । विभिन्न देशमा कडा आप्रवासन नीति समर्थक राजनीतिक दलहरूको प्रभाव बढ्दै गएको छ ।

संयुक्त राष्ट्रसंघका अनुसार सन् २०१५ मा भूमध्यसागर पार गरेर युरोप प्रवेश गर्ने आप्रवासीको संख्या १० लाखभन्दा बढी पुगेको थियो । यद्यपि पछिल्ला वर्षहरूमा समुद्री मार्गबाट हुने आगमन केही घटेको तथ्यांकले देखाएको छ ।

यसैबीच, ट्रम्प प्रशासनले अमेरिका भित्र पनि कडा आप्रवासन नीति लागू गर्दै अध्यागमन तथा भन्सार प्रवर्तन निकाय (आईसीई) मार्फत व्यापक पक्राउ अभियान सञ्चालन गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्