०३ असार २०८३, बुधबार

अध्यादेश ‘बेमौसमी बाँसुरी’ भन्दै कड्किए देउवा

अध्यादेश ‘बेमौसमी बाँसुरी’ भन्दै कड्किए देउवा

सरकारले लकडाउनका बेला संवैधानिक परिषद सम्बन्धि र राजनैतिक दलसम्बन्धी दुई अध्यादेश जारी गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आपत्ति जनाएका छन्। 

सोमबार बसेको मन्त्रिपरिषद बैठकले संवैधानिक परिषदको काम कर्तव्य अधिकार र कार्यविधिसम्बन्धी पहिलो संशोधन अध्यादेश २०७७ र राजनीतिक दलसम्बन्धी अध्यादेश पारित गरेकोमा सोमबार नै राष्ट्रपतिबाट जारी भइसकेको छ। 

सभापति देउवाले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘कोरोनाको संक्रमणसँग पुरै विश्व एक भएर लडिरहेको छ। यस्तो बेलामा जे जारी गरेको छ त्यसले सरकार नागरिकको जीवन रक्षाका लागि गम्भीर नभएको पुष्टि भएको छ।’ ती दुबै अध्यादेशप्रति कांग्रेसको गम्भीर असहमति रहेको देउवाले उल्लेख गरेका छन्।

‘कोरोनाको संक्रमणबाट नेपाल र नेपालीको रक्षा गर्ने यो घडीमा सबै खाले विमति र आग्रहहरुबाट माथि उठेर नेपाली कांग्रेसले सरकारलाई हरसम्भव सघाउँदै आएको छ । यतिबेलाको प्रधान दायित्व भनेको कोरोना र भोकमरीबाट नेपाली जनतालाई जोगाउनु हो । यो घडी सत्ताको उन्माद या खेल प्रस्तुत गर्नु भनेको नेपाली इतिहासकै सबैभन्दा दुःखद घटना हो र यो ‘बेमौसमी बाँसुरी’ हो,’ विज्ञप्तिमा भनिएको छ।

नागरिक जीवन संकटमा रहेको घडीमा सरकारले चालेको कदम र राष्ट्रपतिबाट हतारमा गरिएको प्रमाणीकरणले यी सबै व्यवस्थालाई हठात उलंघन गरेको कांग्रेसको ठम्याइ छ।

‘कांग्रेस अलोकतान्त्रिक एवं संविधानको मर्म विपरीतका विधेयक तत्काल फिर्ता लिन माग गर्दै अन्य सबै खेल भन्दा माथि उठेर कोरोनाबाट जनताको जीवन रक्षामा सम्पूर्ण रुपले केन्द्रित हुन सरकारलाई अपील गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

सम्बन्धित समाचार: राष्ट्रपतिबाट दुवै अध्यादेश जारी 

salt training

कमेन्ट गर्नुहोस्