बेलायतको क्याम्ब्रिज विश्वविद्यालयका वैज्ञानिकहरूले कोभिड–१९ को मूल पत्ता लगाउका लागि गरेको अध्ययनमा यो भाइरस वुहानभन्दा बाहिर देखिएको र सन् २०१९ को सेप्टेम्बर महिनामै पशुबाट मानवमा सरिसकेको हुनसक्ने देखिएको छ ।
अप्रिल ८ मा अनुसन्धान टोलीले ‘फाइलोजेनेटिक नेटर्व एनालिसिस अफ सार्स–कोभ–२ जिनोम्स’ शीर्षकको पेपर प्रोसीडिङ्स अफ द नेसनल एकेडमी अफ सायन्सेज जर्नलमा प्रकाशन गरेको छ ।
यस पेपरको समकक्षी समीक्षा गरिएको छैन र यसले डिसेम्बर महिनाको अन्त्यतिर संकलन गरिएको १६० स्ट्रेनको अध्ययन गरेको थियो । अनुसन्धानकर्ताहरूले विश्वभरिका वैज्ञानिकले प्रकाशन गरेका एक हजार एकवटा उच्चस्तरीय जिनोम सिक्वेन्सहरू संलग्न गर्ने गरी डेटाबेसलाई विस्तार गरेका थिए ।
अनुसन्धान टोलीको नेतृत्व जेनेटिकविज्ञ पिटर फोर्स्टरले गरेका हुन् । उनी र उनका सहकर्मीहरूले जर्मनीको म्युनस्टरस्थित इन्स्टिच्युट अफ फोरेन्सिक जेनेटिक्सका वैज्ञानिकहरूसँग मिलेर आकलन गरेअनुसार कोरोनाभाइरस पहिलोपटक सन् २०१९ को सेप्टेम्बर १३ देखि डिसेम्बर ७ को बीचमा देखिएर मानिसलाई संक्रमित गराएको हुनुपर्छ ।
चीन सरकारका अनुसार, थाहा भएको पहिलो कोरोनाभाइरस केस नोभेम्बर १७ मा देखिएको थियो । हुबेई प्रान्तका ५५ वर्षीय रोगीमा भाइरस देखिएको हो ।
सेन्टर्स फर डिजीज कन्ट्रोल यान्ड प्रिभेन्सनका साथसाथै क्यालिफोर्नियाका राज्य तथा स्थानीय स्वास्थ्य विभागको आँकडाले अमेरिकीहरू डिसेम्बर महिनामै कोरोना संक्रमित भएको हुन सक्ने संकेत दिएको छ । त्यो सत्य हो भने अहिले विश्वास गरिएको भन्दा हप्तौं अघि हुनुपर्छ ।
फोर्स्टरलाई कोभिड–१९ वुहानको भाइरोलोजी प्रयोगशालाबाट आएको हो भनी सोधियो ।
उनले भने, ‘म उत्तर दिन बाध्य बनाइएँ भने भन्छु– संक्रमण वुहानभन्दा पनि दक्षिणी चीनबाट शुरू भएको हुनुपर्छ ।’
एक हजार एक कोरोनाभाइरस जिनोममाथि अनुसन्धान गर्दा वैज्ञानिकहरूले कोभिड–१९ लाई तीनवटा वर्गमा विभाजित गरेका छन् : ए, बी र सी । टाइप ए जेनेटिक रूपमा चमेरोमा पाइने कोरोनाभाइरससँग मिल्छ । यो ए टाइपको भाइरस वुहानमा पाइएको थिएन । त्यहाँका अधिकांश मानिसमा टाइप बी देखियो ।
अनुसन्धानले पत्ता लगाएअनुसार, यो रोग ग्वाङदोङ प्रान्तबाट शुरू भएको हुनुपर्छ । त्यहाँ ११ आइसोलेटमध्ये सातवटा टाइप ए थिए ।
यो अनुसन्धान निष्कर्ष सही हो भने अमेरिकाले वुहानको प्रयोगशालाबाट भाइरस निस्केर सबैतिर सरेको विषयमा अनुसन्धान गर्नु मूर्खतापूर्ण हुने देखिएको छ ।