२५ जेठ २०८३, सोमबार

‘प्रि–मनसुन’ले विद्युत् व्यवस्थापन सहज

बैशाख १०, २०७७
‘प्रि–मनसुन’ले विद्युत् व्यवस्थापन सहज

यसपटक चाँडै प्रिमनसुन सक्रिय हुन थालेपछि नेपालले आन्तरिक उत्पादनका भरमा मात्र पनि विद्युत् वितरण प्रणाली व्यवस्थापन गर्नसक्ने भएको छ ।

एकातिर लकडाउन हुँदा मुलुकभर विद्युत्को आपूर्ति घट्दै जानु र अर्काेतिर प्रिमनसुन सुरु भई खोला नदीनालामा पानीको मात्रा बढ्ने स्थिति देखिएपछि नेपालले भारतबाट आयात गर्दै गरेको बिजुलीमा ठूलो मात्रा कटौती गरिसकेको छ । हाल कुलेखानी जलविद्युत् आयोजनामा पनि पानीको सञ्चिति पर्याप्त मात्रामा रहेको छ । गर्मी बढ्दै जाँदा हिमालको हिउँ पग्लने क्रम बढ्दै गएकाले हिमनदीमा पानीको मात्रा बढ्न शुरू भइसकेको छ ।

प्रिमनसुन सक्रिय हुँदा र हिउँ पग्लदै जाँदा विशेष गरी कालीगण्डकी, मस्र्याङ्दी, त्रिशूली, भोटेकोसी, चमेलियालगायतका जलविद्युत् गृहको उत्पादन २० देखि २५ प्रतिशतसम्म वृद्धि हुने अनुमान नेपाल विद्युत् प्राधिकरणले गरेको छ ।
प्राधिकरण भार सम्प्रेषण केन्द्रका प्रमुख सुरेश भट्टराईका अनुसार अहिले भारतबाट ठूलो मात्रामा बिजुली कटौती गरिएको छ । भारतबाट अहिले चौबीसै घण्टा २० मेगावाट मात्र बिजुली आयात गरिएको छ । उहाँका अनुसार सोमबार साँझको पिकआवरमा ८७२ मेगावाट माग रहेको थियो । त्यसलाई नेपालका आन्तरिक उत्पादनले व्यवस्थापन गर्न सकिएको छ ।

लकडाउनले गर्दा नेपालमा कुल मागको ४० प्रतिशत बिजुलीको उपभोग घटेको छ । जुन औद्योगिक क्षेत्रमा खपत हुने गरेको थियो । अहिले कुलेखानीलाई निरन्तर चलाइने गरिएको छ । यद्यपि गत वर्षको तुलनामा कुलेखानीमा यो वर्ष पानीको सञ्चिति अझै पनि धेरै भएको प्राधिकरणको छ ।

प्रमुख भट्टराईले भने, मङ्गलबारसम्म कुलेखानीमा एक हजार ५१२ दशमलव ४६ मिटर पानी छ । यो पानी एक हजार ४९० मिटरसम्म चलाउन सकिन्छ । उहाँले भने, अहिले लकडाउनका बेला भएकाले पनि माग खासै छैन । अब प्रिमनसुन सुरु भइसक्यो । गर्मीले हिउँ पग्लने क्रम बढ्दै छ । अब वैशाख दोस्रो साताबाट त कुलेखानीबाहेकका जलविद्युत् गृहबाट उत्पादन अझै बढ्न थाल्छ ।  

salt training

कमेन्ट गर्नुहोस्