२६ जेठ २०८३, मंगलबार

संकटबाट प्रभावित पुन:निर्माण : बदलिएको परिस्थितिमा यसरी शुरू गर्न सकिन्छ निर्माण कार्य

बैशाख १०, २०७७
संकटबाट प्रभावित पुन:निर्माण : बदलिएको परिस्थितिमा यसरी शुरू गर्न सकिन्छ निर्माण कार्य
  • ई. रामबहादुर घिमिरे

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाभाइरस (कोभिड १९) को संक्रमण फैलिन नदिन सरकारले गरेको बन्दाबन्दी (लकडाउन)का कारण नेपालको निर्माण क्षेत्र लगभग ठप्प जस्तै छ । 

लकडाउनको समयमा काठमाडौं उपत्यकामा सडक कालोपत्रेगर्ने कामले तीव्रता पाएपनि निर्माणका अन्य क्षेत्र प्रभावित भएका छन् ।

काम ठप्प भएकै कारण निर्माण क्षेत्रमा खटिएका हजारौं मजदुरहरू राजमार्गमा पैदलै हिँडेर आफ्नो गाउँ घर फर्किरहेका छन् । कोरोना संक्रमणले नेपाललाई अहिलेसम्म ठूलो असर पारिसकेको छैन, सावधानी अपनाएमा हामीले यसलाई जित्न सक्छौं । 

कुनै न कुनै दिन कोरोनाको महामारी नियन्त्रणमा आउने छ, तर त्यसपछिका दिनमा हामीहरूको ठूलो समस्या शिथिल भएको अर्थतन्त्रलाई गति दिनु हुनेछ ।

लकडाउनले गर्दा २०७२ सालमा गएको महाभूकम्पपछिको पुन:निर्माण अन्तिम चरणमा पुगेको समयमा यो काम पनि प्रभावित भएको छ । 

सरकारले सही नीति लिएमा सावधानीका केही तरिका अपनाएर निर्माण क्षेत्रलाई गति दिनु अत्यावश्यक भइसकेको छ । 

बदलिँदो परस्थितिमा निर्माण कार्य व्यवस्थित र सुरक्षित तरिकाले अगाडि बडाउन अपरिहार्य देखिन्छ । भर्खर–भर्खर विकास र निर्माणको चरणमा प्रवेश गरेको नेपाल विश्वव्यापी महामारीको चपेटामा पर्दा बामे सर्न लागेको निर्माण उद्योग र व्यवसाय थिलोथिलो पर्ने अनि आर्थिक गतिविधि शून्यप्रायः हुने देखिन्छ ।

यसबाट ठूलो संख्यामा रोजगारी कटौती भई उच्च बेरोजगार हुनुको साथै उत्पदानमूलक आयोजना समयमै सम्पन्न हुन सक्ने अवस्था देखिँदैन ।

अहिलेको अवस्थामा पनि निर्माण कार्य सावधानी तरिकाले र सुरक्षित रूपमा अगाडि बढाउन सकिन्छ । नेपालको बस्ती र काम गर्ने क्षेत्र आफैंमा आइसोलेटेड छ ।

६०/७० प्रतिशत बस्ती ग्रामीण र शहरउन्मुख क्षेत्रमा स–सानो एकाइ र टाढा–टाढाको दुरीमा अवस्थित छ । एउटा घरबाट अर्को घरको दुरी, एउटा गाउँबाट अर्को गाउँको दुरी आफैंमा सामाजिक र भौतिक दुरी कायम रहेको छ । हाम्रो खानपान, रहने–बस्ने तौरतरिका, खुला क्षेत्र, पानीको प्रयोग विधि, आफ्नै विशेषताको स्वच्छता र सरसफाइको अवस्था छ ।

हाम्रो उद्योग, निर्माण र व्यवसायिक क्षेत्रमा हजारौं हजार भेला हुने, बाह्य क्षेत्रका सँग आवागमन हुने, रातबिरात अस्वस्थ तरिकाले काम गर्ने होइन, धेरैजसो निर्माण क्षेत्र स–सानो समूहमा छ ।

कतै ५ जना, कतै १० जना, कतै २०/५० जना केही अपवाद ठूला निर्माणबाहेक । ठूलो निर्माण समूहलाई पनि स–सानो उप–समूहमा विभाजन गरी स्वस्थ, सुरक्षित र संरक्षित तरिकाले निर्माण कार्यअगाडि बढाउन सकिन्छ ।

निर्माण कार्यमा संलग्न श्रमिक, व्यवसायी र इञ्जिनीयरलाई व्यवस्थित आवास र एकान्तवास, स्वस्थ खानपिन, स्वच्छ शौचालय र शुद्ध पिउने पानीको बन्दोबस्ती गरी निर्माण कार्य सञ्चालन गर्न सकिन्छ ।

अधिकांश आयोजना तथा निर्माण कार्य स–साना खानेपानी, सडक, पुल, भवन, कृषि र सिँचाइ योजना, जलविद्युत्, स्कूल, स्वाथ्य चौकी हुन् । यी सबै आयोजनाहरूमा स–सानो उप–समूह बनाई सोहीबमोजिम व्यवस्थित तरिकाले तत्काल सुचारू गर्न सकिन्छ । 

यसरी निर्माण कार्य गर्दा एक त अर्थ व्यवस्था चलायमान हुन्छ, अर्को समुदाय र बस्तीमा आत्मबल बढ्नुको साथै काम अभ्यास र श्रमले व्यक्ति स्वयं स्वस्थ र रोग प्रतिरोधात्मक क्षमता वृद्धि पनि हुन्छ ।

स–सानो समूहगत निर्माण कार्य आफैंमा क्वारेन्टाइन र एकान्तवास जस्तै हो । यो कुनै हजारौं भेला हुने, जमघट हुने र अव्यवस्थित भीडभाड गर्ने जस्तो होइन । संयमित, सुरक्षित र व्यवस्थित तरिकाले गरिने काम हो ।

यसर्थ आजैबाट निर्माण कार्य शुरू गरी आर्थिक गतिविधि बढाऔं र महामरीसँग सामना गरौं । 

(पूर्वाधार विज्ञ घिमिरेसँग संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमअन्तर्गत सुडान पुन:निर्माण प्रोजेक्टमा काम गरेको अनुभव छ ।)

salt training

कमेन्ट गर्नुहोस्