
उदयपुरको भुल्केमा थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उदयपुर जिल्लाबाट हुने आवतजावत तत्काल रोक्न लहानका स्थानीयले माग गरेका छन् ।
उनीहरूले छिमेकी जिल्ला उदयपुरमा कोरोना संक्रमित भेटिएकाले सिरहाको लहान उच्च जोखिमा परेको भन्दै उदयपुर जिल्लाबाट हुने गरेको आवतवाजत पूर्णरुपमा रोक्नुपर्ने माग गरेका हुन् ।
उदयपुरको विभिन्न स्थानबाट सर्वसाधारण लहान आउने र लहानबाट उदयपुरतर्फ आवतजावत भइरहेकाले लहान पनि उच्च जोखिममा रहेको भन्दै नागरिक समाजका अगुवाहरुले उदयपुरबाट हुने आवतजावत तत्काल रोक्न स्थानीय प्रशासनसँग माग गरेका छन् ।
आवतजावत रोक नलगाए स्थिति भयावह हुन सक्ने भएकाले लहानको पूर्वी प्रवेश नाकाबाट सर्वसाधारणको प्रवेशमा पूर्ण रुपमा रोक लगाउनुपर्ने नागरिक अगुवा रामानान्द गुप्ताको भनाइ छ ।
उदयपुरको त्रियुगा नगरपालिकास्थित भुल्केमा कोरोना संक्रमितको संख्या २४ जना पुगेपछि सिरहाको लहानमा त्रास बढ्ेको हो । कोरोना भाइरस रोकथामका लागि सरकारले लकडाउन गरेको विगत १ महिनादेखि दैनिक जीवन प्रभावित हुँदै आएको छ । यता सुरक्षाकर्मीले लकडाउन पालना गराउन सडकमा चेकजाँजलाई कडाई गरेका छन् ।
यसैबीच लकडाउनको मारमा परेका गरीब, विपन्न, असहाय र मजदरलाई सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाले बुधवारदेखि राहत वितरण शुरू गरेको छ । सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीबाट राहत वितरण गर्न शुरू गरेको हो ।
प्रतिपरिवार १५ किलो चामल, २ किलो दाल, १ किलो नुन, २ किलो चिनी, १ लिटर तेल, २५० ग्राम मिक्स मसला, ह्यान्डवास र साबुन १/१ थानका दरले वितरण गर्न शुरु गरेको गाउँपालिकाका अध्यक्ष केदारनाथ यादवले जानकारी दिए ।