
आरडीटी परीक्षणमा एन्टीबडी पोजेटिभ देखिएका पश्चिम नवलपरासीका वृद्धको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।
पश्चिम नवलपरासी बर्दघाट नगरपालिका–४ का ७८ वर्षीया वृद्धको मंगलवार गरिएको र्यापिड टेस्टमा एन्टीबडी पोजेटिभ देखिएको थियो ।
बिरामीको स्वाबमार्फत भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण नदेखिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख राजेन्द्रकुमार गिरीले जानकारी दिए ।
बर्दघाटस्थित चिसापानी अस्पतालमा परीक्षण गरिएको हो । छातीमा समस्या आएपछि उनी अस्पताल पुगेका थिए । परीक्षणमा एन्टीबडी पोजेटिभ देखिएपछि उनका सबै परिवारलाई तत्कालै र्यापिड टेस्ट गरिएको थियो ।
उनीहरू सबैको रिपोर्ट नेगेटिभि आएको छ । प्रदेश ५ का १२ वटै जिल्लामा आरडीटी माध्यमबाट परीक्षण भइरहेको छ । प्रदेशभर हालसम्म २ हजार ५९६ जनाको परीक्षण भएको छ । यसमध्ये आरडीटी परीक्षणमा बर्दघाटका वृद्धको मात्रै पोजेटिभ देखिएको थियो ।