
राहत वितरणमा राजनीतिक पूर्वाग्रह भएको भन्दै नेपाली कांग्रेस कास्कीले आपत्ति जनाएको छ ।
पोखरामा बुधवार जिल्ला सभापति कृष्णबहादुर केसीको अध्यक्षतामा बसेको बैठकले एकद्वार प्रणाली नाममा राज्यद्वारा गरिएको राहतको विभेदकारी वितरणप्रति गम्भीर ध्यानाकर्षण भएको ठहर गर्दै सो कार्यको निन्दा गरिएको प्रवक्ता नवीन सिग्देलले बताए ।
लक्षित वर्गसम्म यथोचित पुग्न नसकेको राहत वितरणको प्रभावकारी अनुगमन आवश्यक देखिएको जनाइएको छ । राहत वितरणमा समेत राजनीतिक पूर्वाग्रह देखाएर पक्षपातपूर्ण व्यवहार गरिएको घटनाले परिस्थितिलाई झन् जटिल बनाउँदै लगेको हुँदा दल र नागरिक समाजको सहभागितामा वितरण अघि बढाउन सम्वन्धित पक्षको ध्यानाकर्षण समेत गराएको छ ।
बैठकले जननिर्वाचित प्रदेशसभा सदस्य विन्दुकुमार थापाले पोखरा महानगरपालिका–२१ लगायतका वडामा राज्यको राहतबाट वञ्चित विपन्न नागरिकलाई राहत वितरण गर्दा स्थानीय जनप्रतिनिधि र प्रशासनले गरेको अवरोधप्रति खेद प्रकट गरेको छ ।
थापा जननिर्वाचित प्रतिनिधि मात्र नभई संस्थागत राहत वितरण गर्दा उल्टै कारवाहीको माग गर्नु आपत्तिजनक र निन्दनीय भएको बैठकपछि सिग्देलले बताए ।
बैठकले कोरोना रोकथाम र नियन्त्रणसँगै अन्य र दीर्घरोगीको उपचारमा समेत ध्यान दिन आवश्यक रहेकाले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएको छ ।
बैठकले नेपाली कांग्रेस कास्की मातहतका सबै तहका पार्टी संरचनालाई नागरिकको दैनिक जीवनका समस्यासँग एकाकार भई समाधानका लागि क्रियाशील रहन अपिल गरेको छ ।
बैठकमा जिल्ला पदाधिकारी, क्षेत्रीय सभापति, नगर सभापति, जिल्लाका प्रदेशसभा सदस्यको उपस्थिति थियो ।