
रिया श्रेष्ठ कुशल नृत्यंगना, मोडल अनि कलाकार हुन्। उनले केही फिल्म र धेरै म्युजिक भिडियोमा अभिनय गरेकी छन्। नाच्नु उनको रुचिको विषय हो। केटाकेटीमा बिरामी भइरहन्थिन्। जब उनका बुवा उनको छेउमा हुन्थे रियालाई आधा रोगले छोड्थ्यो। बुवाकी प्यारी छोरी। उनका दिदी र दाइ पनि जन्मिएका थिए तर बाँचेनन्। त्यसैले पनि आमाबुवाको लाडप्यारमै हुर्किइन् उनी। उनलाई माया गर्ने बाबाको साथ भने लामो समय रहेन।
१३ वर्षअघि लङक्यान्सरका कारण बुवा गुमाएपछि उनको जीवन पनि अधुरो, अपूरो जस्तै भएको छ। बुवा हुँदा आफूलाई सधंै बच्चाजस्तो महसुस गर्ने रियालाई बाबाको अभावसँगै मनदेखि नै अँध्यारो लाग्छ। आजसम्म मेरो बुवा पनि बाँचिदिएको भए म कति खुसी हुन्थे होला भन्ने लाग्छ। आफूले अभिनय गरेका फिल्म हेर्न पाउँदा बुवा कति खुसी हुनुहुन्थ्यो भन्ने लाग्छ।
नक्सालमा बस्दै आएकी रियाले लकडाउनको समय आमासँंगै बिताइरहेकी छन्। आमाका कुरा सुन्ने, मन पर्ने परिकार पकाएर खुवाउने, घरमा बाँकी रहेका काम गर्ने गरेर यो लामो समय सदुपयोग गरेकी छन् उनले। उनकी आमा पनि मुटुकी बिरामी हुनुहुन्छ। त्यसैले पनि आमाको औधी माया लाग्छ उनलाई।
बाहिर देखाउने माया रियालाई कृत्रिम जस्तै लाग्छ। यसैले पनि होला दोस्रो पटक गहिरो सम्बन्धमा बस्न रहर लागेन उनलाई।
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण उनी पनि बाहिर निस्किन पाएकी छैनन्। यसबीचमा केही सामाजिक कार्यमा आफूलाई सक्रिय बनाएकी छन् उनले। अप्ठ्यारोमा परेका कलाकारलाई राहत उपलब्ध गराउने, ज्यालादारीमा काम गर्ने मजदुरलाई सकेको सहयोग गर्ने, कियर बाल आ श्रमका बच्चालाई सहयोग गर्नेलगायतका कार्यमा व्यस्त छिन्। गरिब दुःखीलाई सहयोग गर्न पाउँदा आफूलाई आनन्द लाग्ने बताउँछिन् उनी। भन्छिन्, ‘दुःखमा परेका, भोकभोकै परेकालाई सक्ने सहयोग सबैले गर्नुपर्छ। सेवा नै धर्म हो।’
रियाले जन्जिर, त्रास, के म तिम्रो होइनर ? , श्री ५ अम्बरे, द रिटर्न हिरो लगायतका केही फिल्ममा अभिनय गरेकी छन्। तीन दर्जनभन्दा बढी म्युजिक भिडियोमा पनि नाचेकी छन्। केही फिल्म प्रदर्शनमा आउने तयारीमा छन्। उनलाई कलाकारितामै निरन्तरता दिने रहर छ। यसैले पनि हरेक दिन केही न केही सिकिरहेकी हुन्छिन्।
केही वर्षअघिको कुरा हो उनी ताहाचल सावित्री सदनमा फिल्मको सुटिङ हेर्न गएकी थिइन्। निर्माता निर्देशकको आँखामा परिन् उनी। त्यहीँ एउटा फिल्ममा उनले एक सिनमा अभिनय गर्ने मौका पाइन्। निर्माता मौनता श्रेष्ठले बोस नामक फिल्म बनाउँदै थिए। यो फिल्ममा उनी मुख्य भूमिकामा अभिनय गर्ने अवसर पाइन्। विडम्बना भन्नुपर्छ यो फिल्म प्रदर्शनमा आउन सकेन।
फिल्म तथा म्युजिक भिडियोमा अभिनय गर्दै जाँदा चिनजान बढ्दै गयो। यसले गर्दा उनलाई काम पाउन खासै अप्ठ्यारो परेन्। २०१० देखि अभिनयमा संलग्न रिया निरन्तर रूपमा भने २०१४ देखि यो क्षेत्रमा सक्रिय भएकी हुन्। काममा नै फोकस हुन मन पराउने उनले अभिनय र नृत्य पनि सिकेकी छन्।
लकडाउनअघि ब्युटिसियन कोर्स गर्दै थिइन् उनी। यसमै बाँकी रहेका काम घरमा बसेर गरिरहेकी छन्। रिया जुनसुकै पेसामा लागे पनि त्यसमा दक्ष हुनुपर्नेमा जोड दिन्छिन्। सानैदेखि नाच्न रुचाउने उनी कलाकार बन्न पाएकोमा खुसी छिन्। भन्छिन्, ‘रुचिको क्षेत्रमा आउन पाएँ, यो नै गर्वको विषय हो।’
प्रेमको विषयमा खुल्ला विचार राख्ने रियासँग प्रेमको सुखद अनुभव भने छैन। मनदेखि माया गरेकी थिइन् उनले कसैलाई। तर उनलाई बुझेन, उनको कामलाई सम्मान गरेन। पीडा मात्रै दियो उसले। बाहिर देखाउने माया उनलाई कृत्रिम जस्तै लाग्छ। यसैले पनि होला दोस्रो पटक गहिरो सम्बन्धमा बस्न रहर लागेन उनलाई। पछिल्लो समय आमालाई बढी माया गर्ने रिया दर्शक श्रोताको माया र हौसलाले मक्ख छिन्। भन्छिन्, ‘काम नै मेरो लभर, दर्शक नै मेरो खुसी। आमा मेरो जिन्दगी।’ अन्नपूर्ण पोस्टमा खबर छ ।