कोरोना संक्रमणपछि उपचाररत बागलुङ कुँडुलेकी १९ वर्षीया अंशु सापकोटा डिस्चार्ज भएकी छन् ।
उनको लगातार दुई रिपोर्ट नेगेटिभ आएपछि आजै डिस्चार्ज गरिएको धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र बिक पोखरेलले लोकान्तरलाई जानकारी दिए ।
उनले भने, ‘रिपोर्ट नेगेटिभ पछि उनको पनि आजै घर फर्किने चाहना थियो, त्यसैले डिस्चार्ज गरिएको छ ।’
उनको बुधवार र बिहिवारको स्वाब परीक्षणमा नेगेटिभ नतिजा आएको थियो ।
उनी राजधानी बाहिर कोरोना संक्रमित हुनेमध्ये पहिलो व्यक्ति हुन् ।
उनी चैत १४ देखि धवलागिरि अञ्चल अस्पताल, बागलुङमा उपचाररत थिइन् ।
उनीसँगै उपचाररत ६५ वर्षीया वृद्धा यसअघि नै कोरोना नेगेटिभ आएपछि डिस्चार्ज भैसकेकी छिन् ।
उनीहरु दुवैजना चैत ४ गते कतार एयरवेजमार्फत बेल्जियमबाट नेपाल आएका थिए । गण्डकीमा हालसम्मको पीसीआर टेष्टमा ५ सय ६४ मध्ये ५ सय ४० जनाको नेगेटिभ आएको छ ।
२ जनाको पोजिटिभ आएकोमा २२ जनाको बाँकी रहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ।