०१ असार २०८३, सोमबार

क्वारेन्टाइनको सट्टा होम क्वारेन्टाइनले जोखिम

बैशाख १४, २०७७
क्वारेन्टाइनको सट्टा होम क्वारेन्टाइनले जोखिम

 लकडाउन जारी रहेकै बेला रातारात मानिस गाउँ छिर्ने र उनीहरू क्वारेन्टाइनमा नबसी सीधै घरै जाने क्रम बढेपछि कोभिड–१९ संक्रमणको जोखिम बढेको छ । बाटामा अलपत्र परेका मानिसलाई गाडीबाट उद्धार गर्न थालिएपछि गाउँमा बाहिरबाट आउने क्रम बढेको हो । उनीहरूको विवरण पनि राख्ने गरिएको छैन । टाढा–टाढाबाट आएका मानिसलाई जनप्रतिनिधिहरूले नै छुट्टै क्वारेन्टाइनमा नराखी होम क्वारेन्टाइन बस्न सघाइरहेको कर्णालीका प्रमुख जिल्ला अधिकारीहरूले गुनासो गरेका छन् । झापामा विदेशबाट आएर होम क्वारेन्टाइनमा बसेका व्यक्तिको बुबामै संक्रमण पुष्टि भएको छ ।

जुम्लामा संघीय सरकारले घोषणा गर्नुभन्दा दुई दिनअघि चैत ९ मै जुम्ला जिल्ला प्रशासन कार्यालयले लकडाउन गर्ने निर्णय गरेको थियो । सीमा नाकाबाट प्रवेशमा कडाइ गरेर बजारमा आउजाउ नियन्त्रण गरियो । तर पछिल्लो एक सातायता रातारात मान्छेहरू गाउँ पस्न थालेपछि प्रशासन झस्किएको छ । ‘गाडीमा आएका मान्छेहरू क्वारेन्टाइनमा पनि बस्न मान्दैनन्, यसले हामी चिन्तित छौं,’ प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेले भनिन्, ‘बाटो (कर्णाली राजमार्ग) पनि सहज छैन, कतिपय मान्छे बाटोमै अलपत्र छन्, त्यहीँबाट उद्धार गर्नुपर्ने अवस्था छ ।’

पछिल्लो समय देशका विभिन्न ठाउँमा अलपत्र परेका मान्छे गाउँघर भित्रिने क्रम बढेपछि बन्जाडेलाई जस्तै कर्णालीका अन्य प्रजिअलाई पनि चिन्तित बनाएको छ । शुक्रबार कान्तिपुरले सम्पर्क गरेका अधिकांश प्रजिअहरूको गुनासो थियो, ‘गाउँमा भित्रिएका मान्छेलाई स्थानीय तहका जनप्रतिनिधिले नै क्वारेन्टाइनमा भन्दा घरमा बस्न सघाइरहेका छन्, यसले गर्दा जोखिम बढेको छ ।’

लकडाउन भइसकेपछि जिल्ला प्रशासन कार्यालयहरूले स्थानीय तहसँग समन्वय गरेर विदेशबाट भित्रिनेको संख्या संकलन गरेका थिए । संकलित तथ्यांकमा चैत १ गतेयता भारतलगायत मुलुकबाट फर्किनेको संख्या ५ हजार ७ सय ७६ छ । लकडाउनपछि पनि भारतबाट केही फर्किएका छन् । तर, पछिल्लो समय भित्रिएका व्यक्तिको विवरण संकलनमै समस्या छ । मुगुका प्रजिअ कृष्णकुमार निरौला स्वास्थ्यकर्मीको टोली स्थलगत रूपमा गाउँमा गएपछि विदेशबाट आउनेको संख्या स्थानीय तहले टिपाएको भन्दा बढी देखिएको बताउँछन् ।

मुगु जिल्ला प्रशासन कार्यालयमा २ सय ६७ जना भारतलगायत विदेशबाट आएका उल्लेख छ । केही दिनअघि खत्याडमा गएको स्वास्थ्यकर्मीको टोलीले एउटै गाउँमा करिब सयजना विदेशबाट आएका भेटाएको उनले बताए । ‘दुई–चार दिनयता त देशका विभिन्न ठाउँमा रहेका मान्छेहरू आइरहेका छन्,’ उनले भने, ‘तिनीहरू क्वारेन्टाइनमा नबसी सरासर घर गएका छन्, यसले जोखिम निम्त्याउने चिन्ता थपिएको छ ।’ जिल्लामा २ सय ९८ जना बेड क्षमताको क्वारेन्टाइन छ, तर अहिले दुईजना मात्रै बसिरहेका उनले बताए ।

पछिल्लो समय कर्णाली प्रदेश सरकारले समेत देशका विभिन्न भागमा अलपत्र परेका बासिन्दालाई उद्धार गर्दै सम्बन्धित जिल्ला र स्थानीय तहमा पठाउने निर्णय गरेको छ ।

त्यसरी फर्केकाहरू क्वारेन्टाइनमा बस्न मान्दैनन् । दैलेखका प्रजिअ युवराज कट्टेल लकडाउनअघि र पछि गाउँ फर्किएका व्यक्तिहरू लुकिछिपी बस्दा समस्या भएको बताउँछन् । उनका अनुसार चैत १ यता भारतलगायत विभिन्न मुलुकबाट करिब १ हजार ५ सय जना जिल्लामा फर्किएका छन् । क्वारेन्टाइनमा भने अहिले ९२ जनामात्रै छन् । २ सय ८५ जना क्वारेन्टाइनबाट घर फर्किएका छन् । ‘हामीले विदेशबाट आएका मान्छेहरूको खोजी गरिरहेका छौं, तर पहिचान गर्नै गाह्रो छ,’ उनले भने, ‘त्यसमाथि पछिल्लो समय उद्धार गरी ल्याइने व्यक्तिले जोखिम थपिएको छ ।’

१० वटै जिल्ला प्रशासन कार्यालयले उपलव्ध गराएको विवरणअनुसार शुक्रबारसम्म १ हजार ७ सय ३७ जना क्वारेन्टाइनमा बसिरहेका छन् भने २ हजार २ सय ४ जना क्वारेन्टाइन समय पूरा गरेर घर फर्केका छन् । कतिपय जिल्लामा उद्धारपछि आउनेको संख्या यति धेरै छ कि क्वारेन्टाइको क्षमताले पनि धान्न सकेको छैन । तीन दिनअघि घर गाउँ फर्किएका सल्यानको वनगाडकुपिन्डे नगरपालिकाका ६१ जना मजदुरलाई क्वारेन्टाइन नभएको भन्दै आ–आफ्नै घर पठाइएको थियो । प्रजिअ शिवराम पोखरेलका अनुसार अहिले पनि ५ सय ३७ जना सामुदायिक क्वारेन्टाइनमा बसेका छन् । ‘१४ दिनसम्म क्वारेन्टाइनमा राख्न सकिने अवस्था छैन, त्यसैले समूहमा आएका उनीहरूलाई समूहमै राखिएको छ,’ उनले भने, ‘स्वास्थ्य परीक्षण गरेर घर पठाउने व्यवस्था मिलाइने छ ।’

बाहिरबाट आएका मान्छेहरू सिधै घर जानुमा स्थानीय तहको फितलोपन प्रमुख कारक रहेको प्रजिअहरूको भनाइ छ । उनीहरूका अनुसार स्थानीय तहले उद्धार गरेर ल्याएकालाई क्वारेन्टाइनमा नराखी सिधै घर पठाउने वातावरण मिलाउँछन् । एकातिर लामो समय घरबाट टाढा भएका व्यक्तिहरू परिवारसँग भेट्न लालायित हुन्छन् भने अर्कोतिर आर्थिक र अन्य व्यवस्थापनको हिसाबले पनि क्वारेन्टाइन बसाइँ स्थानीय तहका लागि झन्झटिलो हुने गर्छ । तथ्यांकले पनि यही बोल्छ । जिल्ला प्रशासन कार्यालयहरूमा उपलब्ध विवरणअनुसार १० वटै जिल्लामा विभिन्न स्थानीय तह र प्रदेश सरकारले ३ हजार ७ सय २२ बेड क्षमताको क्वारेन्टाइन बनाएका छन् । शुक्रबारसम्म क्वारेन्टाइनमा बस्नेको संख्या क्षमताको आधा पनि छैन । जुम्लाकी प्रजिअ बन्जाडे पहुँच नभएका र कमजोर हैसियत भएका व्यक्तिहरू मात्र क्वारेन्टाइनमा बसिरहेका बताउँछिन् । ‘कोरोनाले त सबैलाई समान रुपमा हेर्ने हो, कसैलाई ठूलो सानो भन्दैन,’ उनले भनिन्, ‘यहाँ त क्वारेन्टाइन गरिब र विपन्नका लागि मात्र बनाइएजस्तो भएको छ ।’

कहाँ कति फर्किए ?

विदेशबाट घर फर्किनेमा सबैभन्दा बढी सुर्खेतका १ हजार ५ सय ५१ जना छन् । तीमध्ये १ सय ४ जना भारतबाहेक मुलुकबाट भित्रिएका जिल्ला प्रशासन कार्यालयका अधिकृत पदमलाल लामिछानेले बताए । उनका अनुसार लकडाउन सुरु भएपछि देशका विभिन्न ठाउँमा रहेका ९ सय ८५ जना पनि घर फर्किएका छन् ।

विदेशबाट फर्कनेमा सबैभन्दा कम डोल्पामा १२ जना छन् । ती पनि भारतबाट दुई महिनाअघि नै काठमाडौंलगायत सहरी क्षेत्रमा आएर लकडाउनअघि जिल्लामा फर्किएकाहरू भएको प्रजिअ सुरेश सुनारले बताए । दैलेखमा विदेशबाट फर्किनेको संख्या करिब १ हजार ५ सय, सल्यानमा ८ सय ८१, रुकुम पश्चिममा ५ सय ५१, कालीकोटमा ३ सय ३५, जुम्लामा २ सय ९१, जाजरकोटमा २ सय ८३ र मुगुमा २ सय ६७ जना छन् । यद्यपि स्थानीय तहहरूले संकलन गरेको यो तथ्यांकभन्दा धेरै व्यक्ति गाउँमा भित्रिएका प्रजिअहरूको आकलन छ । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बिहीबार दिउँसो १० वटै जिल्लाका प्रजिअसँग भिडियो कन्फरेन्समार्फत बैठक गर्दै स्थानीय तहको समन्वयमा जिल्लामा भित्रिएका मजदुर, विद्यार्थी लगायतलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन निर्देशन दिए । लकडाउन लम्बिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै खाद्यान्नको उचित प्रबन्ध गर्नॅपर्ने उनको भनाइ थियो ।

पीसीआर सुस्त
कर्णाली प्रदेश सरकारले चैत १ यता भारतबाट आएका सबैको थ्रोट स्वाबको नमुना (पीसीआर) परीक्षण गर्ने योजना बनाए पनि हालसम्म ९ सय २६ जनाको मात्र परीक्षण भएको छ । पहिलो चरणमा तेस्रो मुलुकबाट आएका र लक्षण देखिएका व्यक्तिको मात्र स्वाब परीक्षण गरिएको छ ।

आरटी–पीसीआर मेसिनको क्षमता अभाव र थ्रोट स्वाब संकलनमा कठिनाइ भएकाले अपेक्षित रुपमा परीक्षण हुन नसकेको प्रदेश स्वास्थ्य निर्देशक रीता भण्डारीले बताइन् । ‘अहिले पनि मान्छे आउने क्रम जारी छ, संख्या बढ्न पनि सक्छ,’ उनले भनिन्, ‘हामीले सबैको पीसीआर गर्ने योजना बनाएका छौं ।’ यसका लागि स्थानीय स्वास्थ्यकर्मीले वडा पालिकासँग समन्वय गरी तथ्यांक संकलन गरिरहेका
उनले बताइन् ।

संघीय सरकारले आरडीटी किट पर्याप्त नदिँदा परीक्षण प्रभावित भएको छ । निर्देशक भण्डारीले वडागत रूपमा संकलित तथ्यांक र अनुमानभन्दा धेरै व्यक्ति गाउँमा पुगेकाले किट अभाव भएको बताइन् । उनका अनुसार संघीय सरकारले दुईपटक गरेर ८ हजार किट पठाएको थियो । हालसम्म करिब ५ हजार जनाको आरडीटी भएको छ । बाँकी किट पनि स्वास्थ्यकर्मीले बोकेर गाउँतिर गएकाले रिपोर्ट आउने क्रम जारी रहेको उनले बताइन् । ‘हामीसँग स्टक कत्ति छैन,’ उनले भनिन्, ‘जिल्लाहरूमा भने प्लानिङअनुसार गरेर काम भइरहेकोले केही बचत हुन सक्छ ।’

थपिए २ पीसीआर मेसिन
कम क्षमताको कारण स्वाब परीक्षण गर्न बाहिर पठाउनुपर्ने अवस्थाको अन्त्य गर्न कर्णालीमा थप दुईवटा मेसिन खरिद गरिएका छन् । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली प्रदेश सरकारले मेसिन खरिद गरेका मेसिन बिहीबार जहाजबाट सुर्खेत ल्याइएका छन् ।

प्रदेश सरकारले त्रिभुवन विश्वविद्यालयसँग रहेको नयाँ मेसिन र प्रतिष्ठानले चीनबाट मेसिन खरिद गरेको हो । प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले संघीय सरकारसँग थप अर्को एक मेसिनसमेत माग गरिएको बताए । ल्याइएका मेसिनले एकपटकमा ९६ वटाको दरले नमुना प्रोसेसिङ गर्न सक्छन् । संघीय सरकारले चैत तेस्रो साता पठाएको हालको मेसिनले भने एकपटकमा एउटामात्र प्रोसेसिङ गर्न सक्छ । त्यही कारण कर्णालीमा संकलित स्वाबका नमुना काठमाडौं र धनगढी पठाउने गरिएको छ ।

पीसीआर र आरडीटीका लागि आवश्यक उपकरण आएपछि कर्णाली प्रदेश सरकारले ‘मेडिकल मार्च’ सुरु गर्ने तयारी गरेको छ । सामाजिक विकासमन्त्री रावलले चिकित्सक र स्वास्थ्यकर्मीको संयुक्त टोली प्रत्येक स्थानीय तहमा पठाइने बताए । उक्त टोलीले कोरोनाविरुद्ध सचेतीकरण र आरडीटी गर्नुका साथै पीसीआरको लागि सम्भावित व्यक्तिको स्वाब संकलन गर्नेछ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार काफ्लेले ‘मेडिकल मार्च’ का लागि ३५ जना चिकित्सकको टोली तयारी अवस्थामा रहेको बताए । मन्त्रालयले साविक कर्णाली अञ्चलका हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालीकोटमा प्रतिष्ठानको टोली मार्चमा हिँड्ने बताए । ‘प्रदेश सरकारले सुरु गर्न लागेको मेडिकल मार्चले कर्णालीमा कोरोनाको जोखिम र अवस्था थाहा हुनेछ,’ उनले भने, ‘आरटी–पीसीआर मेसिन आएपछि त झन् सहज हुनेछ ।’

क्वारेन्टाइनमा थोरै
झापा– कोभिड–१९ संक्रमण पुष्टि भएका दमक नगरपालिका ३ का ६२ वर्षीय वृद्धका छोरा घरमै (होम) क्वारेन्टाइनमा बसेका थिए । उनका ३३ वर्षीय छोरा गत चैत ७ गते दुबईबाट घर आइपुगेका थिए । छोराबाटै बुबालाई संक्रमण फैलिएको हुन सक्ने स्वास्थ्यकर्मीको दाबी छ ।

जिल्लामा क्वारेन्टाइनमा भन्दा होम क्वारेन्टाइनमा बस्नेको संख्या दोब्बर छ । जिल्ला समन्वय समिति (जिसस) को तथ्यांकअनुसार जिल्लाका १५ स्थानीय तहमा २७ वटा क्वारेन्टाइन निर्माण गरिएका छन् । ती क्वारेन्टाइनमा ७ सय ९२ जनालाई एकै पटक राख्न मिल्ने क्षमता छ । तर, अहिले त्यहाँ २ सय ३ जना मात्र छन् । क्वारेन्टाइनमा बसेका २ सय ८७ जना भने घर फर्किसकेका छन् । तथ्यांकअनुसार होम क्वारेन्टाइनमा भने १ हजार ४६ जना रहेका छन् ।
संक्रमण पुष्टि भएको दमक नगरपालिकामा तीन स्थानमा १ सय १४ जना राख्न मिल्ने गरी क्वारेन्टाइन निर्माण गरिएको छ । तर, अहिले ४१ जना मात्र क्वारेन्टाइनमा बसिरहेको नगरपालिकाले जनाएको छ । नगरभित्र होम क्वारेन्टाइनमा भने १ सय २३ जना छन् । ‘वृद्धलाई कोरोनाको संक्रमण विदेशबाट आएको छोराबाटै सरेको हो भन्ने हाम्रो निष्कर्ष हो,’ दमक–३ का वडाध्यक्ष नवीन बरालले भने, ‘नगरपालिकाको क्वारेन्टाइनमा बसेको भए सायद बुबालाई संक्रमण देखिँदैन थियो कि ।’

उनले १४ दिन क्वारेन्टाइन बस्दा कोरोना संक्रमणबाट जोगिन्छ भन्ने कुराले अन्योल बनाएको बताए । बरालले भने, ‘लकडाउन सुरु हुँदा ती युवक विदेशबाट आएको एक हप्ता बितिसकेको थियो । अब एक हप्ता घरमै बस्दा हुन्छ होला भनेर होम क्वारेन्टाइनमा राखियो । तर, नतिजा अर्कै आयो ।’ नगरपालिकाका स्वास्थ्य सहायक कुवेर भट्टराईका अनुसार दमकमा विभिन्न देशबाट १ सय १७ जनाभन्दा बढी आएको तथ्यांक छ ।

घरमा ३५ बढी आफन्त आएका थिए
संक्रमण पुष्टि भएका वृद्ध पूर्वभारतीय सैनिक हुन् । चार जनाको परिवारमध्ये विदेशबाट छोरा आउनुअघि घरमा वृद्ध दम्पती मात्र बस्दै आएका थिए । छोरा आइपुगेको दुई दिनपछि तेह्रथुम मावल गएकी बुहारी पनि घर फर्किएकी थिइन् । आफू १४ दिनसम्म अलग्गै बसेको विदेशबाट आएका छोराले टेलिफोनमा कान्तिपुरसँग भने । ‘घर आइपुगेपछि म र श्रीमती छुट्टै बसेका थियौं । थर्ममिटरले दैनिक हामी दुईको ज्वरो नाप्ने गरेको थिएँ । १४ औं दिनसम्म ज्वरो देखिएन । कोरोनाको अन्य लक्षण पनि नदेखिएपछि हामी बाहिर निस्किएका थियौं’ उनले भने । १४ दिनपछि उनी नजिकै रहेको ठूलो बुबा र मामाघर गएको बताए । संक्रमित वृद्ध सुगर र प्रेसरको बिरामी हुन् । लकडाउनकै समयमा औषधि खरिद गर्न उनी दुई पटक दमक बजार गएको छोराले बताए ।

बुबालाई कोरोना संक्रमण पुष्टि भएको दुई दिनअघि मात्र उनको घरमा मरिमराउको काम सकिएको थियो । चैत ३० गते संक्रमित वृद्धका तेह्रथुमस्थित सासूआमाको निधन भएको थियो । चैत ९ मा काम सकिएको थियो । ‘करिब ३०/३५ जना हाम्रो घरमा आए होलान्,’ ती युवकले भने । घरमा सुध्याइँको काम सकिएपछि र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गर्न आफू दमक अस्पताल गएको उनले बताए । आरडीटीका क्रममा उनको एन्टिबडी पोजिटिभ देखिएपछि स्वास्थ्यकर्मीको टोलीले घरमै आएर बुबाआमा र श्रीमतीको पनि एन्टिबडी परीक्षण गरेको थियो । सो क्रममा श्रीमतीको रिपोर्ट नेगेटिभ तथा बुबाआमाको एन्टिबडी पोजिटिभ देखिएको थियो ।
युवक चार वर्षदेखि वैदेशिक रोजगारीमा छन् । कम्पनीमा उनीसँगै बुद्धशान्ति गाउँपालिकाका एक युवक पनि कार्यरत थिए । दुवै जना चैत ६ गते नेपाल एयरलाइन्सको विमानमार्फत काठमाडौं झरेका थिए । सँगै घर फर्किएका बुद्धशान्तिका साथीमा कोरोना परीक्षण नेगेटिभ आएको उनले बताए ।

उद्धारका नाममा गाउँमा भीड
ओखलढुंगा– ओखलढुंगा र सोलुखुम्बुका अधिकतर स्थानीय तहले रातारात बसमा काठमाडौंबाट यात्रु ओसारेका छन् । ओखलढुंगाको चिशंखुगढी, मानेभन्ज्याङ, मोलुङ, चम्पादेवी, खिजिदेम्बामा ५ सयदेखि एक हजारसम्म मानिस राजधानीबाट घर फर्किसकेका छन् ।

सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका, थुलुङ दूधकोसी गाउँपालिका, माप्य दूधकोसी गाउँपालिकालगायतले काठमाडौंमा रहेका यात्रुलाई बस र जिपबाट ल्याएका छन् । अधिकतर गाडीमा यात्रु कोचाकोच भरिएर आएका छन् । एउटा स्थानीय तहले सिफारिस गरेर पठाएको गाडीमा अर्को स्थानीय तहका यात्रु पनि चढेर आइरहेका छन् ।

सुरुमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि गठित कमान्ड पोस्टले जिल्ला बाहिर रहेका अलपत्र नागरिकको विवरण संकलन गर्ने निर्णय गरेको थियो । लकडाउन लम्बिँदै गए उनीहरूलाई आवश्यकता हेरेर उद्धार गर्ने आशयसहित निर्णय गरिएको थियो । सर्वोच्च अदालतले सरकारलाई दिएको आदेश र कमान्ड पोस्टले गरेको निर्णयका आधारमा स्थानीय तहले काठमाडौंबाट मान्छे ल्याउन थाले ।

सुरुमा काठमाडौंबाट ल्याइएका सबैलाई क्वारेन्टाइनमा राख्ने भनिएको थियो । फर्किनेको संख्या धेरै भएपछि क्वारेन्टाइनको क्षमताले धान्न सकेन । त्यसपछि सबैलाई होम क्वारेन्टाइनमै बस्न अनुरोध गर्दै घर पठाइएको छ ।
‘सुरुमा क्वारेन्टाइनमा राखेर मात्र घर जान दिने भनेका थियौं,’ मोलुङ गाउँपालिकाका सूचना अधिकारी गोपाल नेपालले भने, ‘अहिलेसम्म तीन सय पचासभन्दा बढी मान्छे आइसके, अझै केही छुटेकालाई लिन गाडी पठाइएको छ । क्वारेन्टाइनमा राख्न सम्भव नहुने रहेछ ।’ उनीहरू सबैको स्वास्थ्य परीक्षण गरी होम क्वारेन्टाइनमा बस्न परामर्श दिएर घर पठाएको उनले बताए ।

यी स्थानीय तहले गाडी पठाए पनि भाडा भने व्यक्ति आफैंले तिरेर आएका हुन् । कतिपयले भाडादर महँगो भएको गुनासो गरेका छन् । उद्धारका लागि विवरण संकलन गरे पनि हालसम्म गाडीमा मान्छे नओसारेका सुनकोसी, लिखु गाउँपालिका र सिद्धिचरण नगरपालिकाका जनप्रतिनिधि भने के गर्ने भन्ने अन्योलमा छन् । सुनकोसी गाउँपालिका प्रमुख रुद्र अधिकारीले भने, ‘विद्यार्थी, जागिरे कर्मचारी, व्यवसायी सबै फर्किएका छन् । यसले संक्रमणको जोखिम ह्वात्तै बढेको छ ।’ सुनकोसी गाउँपालिकाले गाडी नपठाए पनि गाउँपालिका क्षेत्रका यात्रु अन्य स्थानीय तहले पठाएको गाडी चढेर आएको उनले बताए । ‘५० जना क्षमताको क्वारेन्टाइन हामीसँग थियो । त्यतिले नधानेपछि हामीले सबैलाई घरमै पठाएका छौं,’ उनले भने ।

प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले समेत स्थानीय तहले भीडभाडसहित उद्धारका नाममा यात्रु ल्याउने कामले संक्रमणको जोखिम बढेको बताए । उनले अहिले स्थानीय तहले गरेको उद्धारको काम प्रशासनको नियन्त्रणमा ल्याउन नसकिएको बताए । ‘भोलि जोखिम बढ्यो भने जिम्मेवार को हुने भन्ने प्रश्न उठ्छ,’ उनले भने ।

काठमाडौंमा अलपत्र परेका आफ्नो वडा र गाउँपालिकाका सर्वसाधारणले उद्धारका लागि अनुरोध गरेकाले ल्याइएको जनप्रतिनिधिहरूको भनाइ छ । मानेभन्ज्याङ–८ का वडा अध्यक्ष भीम मगरले भने, ‘गाउँ, टोलबस्तीका सर्वसाधारणलाई जानकारी गराएर उनीहरूको प्रत्यक्ष निगरानीमा होम क्वारेन्टाइनमा बस्ने दुवै पक्षको सहमतिमा जान दिएका छौं ।’ कान्तिपुर दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्