१५ असार २०८३, सोमबार

कोरोनाको अति उच्च जोखिमको सूचीबाट हट्यो नेपाल

बैशाख १४, २०७७
कोरोनाको अति उच्च जोखिमको सूचीबाट हट्यो नेपाल

विश्व स्वास्थ्य सङ्गठन (डब्लूूएचओ)ले नेपाललाई कोरोना भाइरस (कोभिड–१९)को अति उच्च जोखिमको सूचीबाट हटाएर उच्च जोखिमको सूचीमा राखेको छ । कोरोना नियन्त्रण तथा रोकथाममा नेपालको प्रगतिका आधारमा जोखिम सूचीमा सुधार भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले नेपालले कोरोनाविरुद्ध कार्य गरेको आधारमा डब्लूूएचओले नेपाललाई अति उच्च जोखिमको सूचीबाट उच्च जोखिमको सूचीमा झारेको जानकारी दिए। बन्दाबन्दी, परीक्षणको दायरा बढाएको, अन्तर्राष्ट्रिय उडान बन्द गरेको लगायतका कार्यप्रगतिका कारण डब्लूएचओले नेपाललाई अति उच्च जोखिमबाट उच्च जोखिममा राखेको उनले बताए।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले डब्लूूएचओले एकदेखि पाँच तहसम्म बनाएको जानकारी दिए। यसअघि तह चारमा नेपाल रहेकोमा अब त्यसलाई घटाएर तह तीनमा राखेको जानकारी दिँदै उहाँले कोरोनाविरुद्ध नेपालले गरेको कामका आधारमा डब्लूूएचओले उच्च जोखिममा राखेको बताए।

सार्क मुलुकका भारत, श्रीलङ्का, बङ्गलादेश, भुटान, माल्दिभ्स तह तीनमा छन् । पाकिस्तान तह चार र अफगानिस्तान अहिले पनि तह पाँचमा छ । तह पाँच भौतिक संरचनाका आधारमा पनि अति कमजोर हो । नेपालले पछिल्लो समय पीसीआर ¥यापिड टेस्टको दायरा ह्वात्तै बढाएको, सङ्क्रमण रोक्न लकडाउन कडाइसाथ लागू गरेको, आइसोलेसन वार्ड बढाएको, क्वारेन्टाइन गर्ने कार्य स्थानीय तहले कडाइका साथ लागू गरेको जस्ता कार्यको मूल्याङ्कन गरी नेपालको अवस्थामा सुधार भएको महानिर्देशक श्रेष्ठले स्पष्ट पारे ।

'अमेरिकामा हजारौँ मानिसको मृत्यु भएको छ', श्रेष्ठले थपे, 'त्यहाँ डब्लूूएचओले तह एकमा राखेको छ । किनकि त्यहाँको स्वास्थ्य संरचनाले तह एकमा राखेको हो ।' नेपालले सातवटै प्रदेशमा तीव्र गतिमा प्रयोगशाला विस्तार गरेको, ७७ वटै जिल्लामा र्‍यापिड परीक्षण शुरू गरेको र स्थानीय तहले पनि काम गरिरहेको जानकारी उनले दिए ।

१२ जना सङ्क्रमणमुक्त

यसैबीच नेपालमा हालसम्म १२ जना कोरोना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । विराटनगरमा ३०, वीरगन्जमा पाँच, धनगढीमा एक र भरतपुरमा एक गरी ३७ जना सामान्य अवस्थामा उपचाररत छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले हालसम्म नौ हजार ६६६ जनाको पीसीआर परीक्षण भएको जानकारी दिए।

यस्तै आरडीटीबाट ३९ हजार ६७० जनाको परीक्षण भएको छ । उनले क्वारेन्टाइनमा १४ हजार ७३१ जना रहेको बताए। प्रवक्ता देवकोटाले तीन जना काठमाडौँ र ८४ जना बाहिर गरी ८७ जना आइसोलेसनमा रहेको बताए। हालसम्म नेपालमा ४९ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्