
उत्तर कोरियाका नेता किम जोङको निजी ट्रेन देशको पूर्वी क्षेत्रमा रहेको वोन्सान क्षेत्रमा देखिएको एक अमेरिकी निगरानी संस्थाले आइतवार जनाएको छ । किमको स्वास्थ्य गम्भीर रहेको हल्ला चलेसँगै निजी ट्रेन देखिएको हो ।
३८ नर्थ नामक संस्थाका अनुसार, भूउपग्रहबाट प्राप्त तस्वीरमा ‘किम जोङ उनको ट्रेन शायद वोन्सानस्थित उनी बसेको भिल्लास्थित लीडरशिप रेलवे स्टेसनमा अप्रिल २१ देखि पार्क गरेर राखिएको छ’ ।
‘लगभग २५० मिटर लामो ट्रेनलाई आंशिक रूपमा स्टेसनको छतले ढाकेको छ र किम परिवारका लागि मात्र उपयोग गरिने रेलवे स्टेसनमा देखिन्छ । अप्रिल १५ मा त्यो ट्रेन त्यहाँ थिएन तर अप्रिल २१ र २३ मा थियो ।’
‘ट्रेनको उपस्थितिले उत्तर कोरियाली नेता कहाँ छन् वा उनको स्वास्थ्य कस्तो छ भन्ने कुराको कुनै संकेत दिँदैन तर किम देशको पूर्वी तटमा रहेको सम्भ्रान्त क्षेत्रमा बसिरहेको भन्ने समाचारलाई बल चाहिँ दिन्छ,’ बयानमा भनिएको छ ।
किमले अप्रिल १५ मा महत्त्वपूर्ण अवसरमा सार्वजनिक उपस्थिति नजनाएपछि उनको स्वास्थ्य समस्या गम्भीर रहेको हल्ला चल्न थालेको हो । त्यसलाई झनै चर्काउने गरी सीएनएनले समाचार दिएको थियो ।
तर अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले किमको स्वास्थ्यसम्बन्धी हल्लामा कुनै दम नरहेको बयान दिइसकेका छन् ।