
कोभिड–१९ को संक्रमण संसारभरि फैलिँदै जाँदा भियतनाममा यसको असर सामान्य मात्र परेको छ ।
महाव्याधि शुरू भएको देश चीनसँग सीमा जोडिएको भियतनामको जनसंख्या ९ करोड ७० लाख जति छ ।
बिहीवारसम्म त्यहाँ कोभिड–१९ संक्रमणको जम्मा २६८ केस छन् ।
अनि कसैको पनि मृत्यु भएको छैन ।
शुरूमै कोरोनाभाइरसविरुद्ध भियतनाम सरकारले जनतालाई जागरुक बनाउँदै यसविरुद्ध लड्न युद्धस्तरमा तयारी गरेको थियो । अहिले नियन्त्रणहरू बिस्तारै खुकुलो बनाइएको छ र विद्यालयहरू फेरि खोल्ने अनुमति दिइएको छ ।
जनवरी महिनाको अन्तिमतिर भियतनाममा कोरोना संक्रमणको पहिलो केस देखिएको थियो ।
त्यसपछि भियतनामले तत्कालै निर्णय लिएर चीनसँगको सीमा बन्द गरिहाल्यो ।
अनि सबै प्रमुख विमानस्थलहरूमा अन्य देशबाट आउने प्रत्येक नागरिकको थर्मल स्क्रीनिङ गरायो ।
विदेशबाट आएकाहरूमा कोरोना संक्रमण देखिएको सरकारले पहिल्यै याद गर्यो । अनि विदेशबाट आउने सबैलाई १४ दिनसम्म क्वारेन्टीनमा राख्न उसले आदेश दियो ।
सरकारले मानिसहरूलाई क्वारेन्टीनमा राख्नका लागि होटलहरूलाई पैसा तिरेर बूक गरायो । मार्च महिनाको अन्तिम हप्तामा भियतनामले सबै विदेशी, भियतनामी मूलका विदेशी र विदेशमा रहेका विदेशी नागरिकको परिवारका सदस्यलाई देश प्रवेश गर्न रोक लगायो ।
कोरोना संक्रमित मानिसहरूलाई एकान्तवासमा राखेपछि उनीहरूसँग सम्पर्कमा आएका मानिस पत्ता लगाइयो र सबैको स्वास्थ्य परीक्षण गरियो ।
अनि भियतनामले देशभित्रै कम मूल्यको परीक्षण किट विकसित गर्न पनि सफलता पायो ।
भियतनामसँग व्यापक स्तरमा मानिसहरूको परीक्षणका लागि दक्षिण कोरिया र जर्मनी जत्तिको स्रोतसाधन पनि छैन ।
स्रोतसाधनको कमीका कारण भियतनाम सरकारले कम खर्च गर्ने दृष्टिकोण अपनायो र संक्रमणका केसहरूलाई आक्रामक ढंगले ट्य्राक गर्यो । संक्रमितलाई तत्कालै आइसोलेसनमा राख्यो ।
कोरोनाविरुद्ध जनतालाई जागरुक गर्न उसले देशव्यापी अभियान चलायो ।
साना भिडियो क्लिप र पोस्टरमार्फत मानिसहरूलाई कोरोनाबाट बच्ने तरिकाका बारेमा जागरुक गराइयो ।
भियतनाम अमेरिका युद्धमा भियतनामले अपनाएको रणनीतिलाई स्मरण गराउँदै प्रधानमन्त्री ग्युएन जुआन फुकले मानिसहरूलाई लामो समयसम्म महाव्याधिविरुद्ध लड्नका लागि तयार हुन अपील गरे ।
अस्ट्रेलियाको न्यु साउथ वेल्स विश्वविद्यालयका प्राध्यापक कार्ल थयारका अनुसार, भियतनामको समाज जागरुक छ । त्यहाँ एक पार्टी प्रणाली छ । प्रहरी, सेना र पार्टीको निर्णय माथिल्लो निकायले गर्छ । यस्ता चुनौतीका बेलामा उसले राम्रो फैसला लिन्छ ।
तर यस रणनीतिमा केही कमजोरी पनि छन् ।
मानिसहरूलाई छिमेकीमाथि नजर राख्न प्रोत्साहन गरिएको छ । अनि जबर्जस्ती क्वारेन्टीनमा लगिने डरले धेरै संक्रमितहरू खुलेर अगाडि आएका पनि छैनन् ।
भियतनामले अपनाएको तरिकाले अर्थतन्त्र पनि प्रभावित भएको छ । व्यापार व्यवसाय बन्द छन् । विमान कम्पनीहरूले करोडौं डलर घाटा सहनुपरेको छ ।
तर कोरोनाभाइरसको कुप्रभावबाट देशलाई बचाउन राजनीतिक इच्छाशक्ति बाहेक संगठित शासन व्यवस्था र आज्ञाकारी जनता हुनु पर्याप्त हुन्छ भन्ने कुरा भियतनामले प्रमाणित गरेको छ ।