
रुकुम (पूर्व) मा एक युवतीको हत्या आरोपमा दुई बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ८ खराङकी २२ वर्षीया दिलकुमारी सेनको हत्याको आरोपमा शनिबार सोही ठाउँका १५ र १६ वर्षीय दुई बालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
अभियुक्तले दाउराका लागि रुख ढाल्ने क्रममा वनबाट दाउरा लिएर घर फर्कँदै गरेकी सेनलाई च्यापेको थियो। शनिबार साँझ जिल्ला अस्पताल रुकुमकोटमा उपचारका क्रममा सेनको मृत्यु भएपछि अनुसन्धानका लागि दुई किशोरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश गुरुङले बताए।
घटनाको अनुसन्धानका लागि उनीहरुलाई आइतबार जिल्ला अदालतमा पेश गरी पाँच दिनको म्याद थप गरिएको प्रहरी निरीक्षक गुरुङले जानकारी दिए। १८ वर्षमुनिका भएकाले प्रहरीले उनीहरुको नाम सार्वजनिक गरेको छैन। उनीहरुको मुद्दा बाल इजालसमा सुनुवाइ हुने प्रहरीले जनाएको छ।