०९ साउन २०८३, शनिबार

कोरोनाको पीरले रुसमा कन्फरेन्स कल गर्दागर्दै पाँच तल्लामाथिबाट हाम्फालिन् चिकित्सक

बैशाख १५, २०७७
कोरोनाको पीरले रुसमा कन्फरेन्स कल गर्दागर्दै पाँच तल्लामाथिबाट हाम्फालिन् चिकित्सक

रुसकी एक वरिष्ठ चिकित्सकले उनको अस्पतालमा कोरोनाभाइरसका रोगीहरूलाई जबर्जस्ती राखिने भनी कन्फरेन्स कलबाट जानकारी पाएपछि भवनको पाँच तल्लामाथिबाट हाम्फालेकी छन् । 

डा येलेना नेपोमन्याश्चाया नामक ४७ वर्षीया ती चिकित्सकले अस्पतालमा चिकित्सक र नर्सहरूका लागि पर्याप्त व्यक्तिगत सुरक्षा उपकरणको अभाव रहेको भन्दै कोरोनाका रोगी भर्ना लिन आपत्ति जनाएकी थिइन् । 

पाँच तल्लामा हाम्फालेपछि निकै चोटपटक लागेर उनको सघन उपचार चलिरहेको छ । उनी मर्ने बाँच्ने विषयमा चिकित्सकहरूले कुनै टिप्पणी गर्न नमानेको टीभीके क्रास्नोयार्स्कले खबर दियो । 

हाम्फाल्नुअघि यी सम्मानित चिकित्सकले क्रास्नोयार्स्क राज्यका स्वास्थ्यमन्त्री बोरिस नेमिकसँग कन्फरेन्स कल गरिरहेकी थिइन् ।

भिल्सकोगो स्ट्रीटमा रहेको उनी कार्यरत अस्पतालको एक इकाइमा कोरोनाभाइरसका रोगीका लागि ८० शय्या छुट्ट्याउन मन्त्रीले उनलाई आग्रह गरेको बताइएको छ ।

क्रास्नोयार्स्क रिजनल हस्पिटल फर वार भेटरन्सका चिकित्सकका लागि सुरक्षा उपकरणको अभाव रहेकाले उनी त्यसविरुद्ध रहेको बताइएको छ । 

स्वास्थ्य मन्त्रालयले यो अस्पताल कोभिड–१९ का रोगीहरूलाई उपचार गर्न तयार रहेको बताएको छ ।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

रुसका अन्य क्षेत्रमा पनि व्यक्तिगत सुरक्षा उपकरणको अभावमा चिकित्सकहरूले जागिर छोडेको खबर आइरहेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्