२० असार २०८३, शनिबार

विराटनगरबाट आएका ११५ जना काठमाडौं छिरे, ४५ जना नागढुंगामा अलपत्र

बैशाख १५, २०७७
विराटनगरबाट आएका ११५ जना काठमाडौं छिरे, ४५ जना नागढुंगामा अलपत्र

बिचल्लीमा परेका भन्छन्– एक ठाउँबाट उठाएर ल्याएर यसरी अलपत्र छाड्न पाइन्छ ? 

विराटनगरबाट काठमाडौं आएका ४५ जना नागढुंगा चेकपोस्टमा अलपत्र परेका छन् । उनीहरूसँगै आएका १ सय १५ जना भने काठमाडौंका विभिन्न स्थानमा प्रवेश गरेका छन् । 

विराटनगर महानगरपालिकाले समन्वय गरेर ७ वटा बसमा राखेर उनीहरूलाई आइतवार काठमाडौं पठाइदिएको थियो ।

सोमवार बिहान ६ बजेको समयमा काठमाडौं आएका उनीहरू मध्याह्नसम्म नागढुंगामै रहेका छन् । माथिको आदेश भन्दै प्रहरीले आफूहरूलाई रोकिराखेको उनीहरूले बताए ।

अलपत्र परेका नागरिकलाई गन्तव्यमा पुर्‍याइदिनेभन्दै विराटनगर महानगरले नामावली संकलन गरेर उनीहरूलाई काठमाडौं पठाएको थियो ।

‘उताको महानगरले पठायो हामीलाई अहिले अलपत्र पारियो,’ बालाजुका श्यामहरि अधिकारीले लोकान्तरसँग भने, ‘कि हामीलाई घर जान दिनुपर्‍यो कि पुरानै ठाउँमा फर्काइदिनुपर्‍यो ।’

कसैलाई छाड्ने र कसैलाई रोक्ने गरेर सरकारले विभेद गरेको उनले आरोप लगाए । ‘एउटा स्थानीय तहले यसरी पठाउने अर्कोले रोक्न पाइन्छ ?’ अर्का एकजनाले प्रश्न गरे, ‘हामी यहाँ भोकभोकै छौं, यसरी अलपत्र पार्न पाइन्छ ?’ काठमाडौं भित्रिएका १ सय १५ जनाको नाम र फोन नम्बर टिपेर प्रहरीले घर पठाइदिएको हो ।

६ महिनाको बच्चा बोहेर आएकी एक महिलाले बिचल्लीमा परेको बताइन् । ‘कि हामीलाई नपठाएको भए हुन्थ्यो, यसरी सडकमा अलपत्र पार्न पाइन्छ ?’ उनले सरकारप्रति आक्रोश पोखिन् । 

काम विशेषले विराटनगर पुगेका उनीहरू अलपत्र परेका थिए । 

महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी भीम ढकालले उनीहरूलाई क्वारेन्टाइनमा राख्ने कि के गर्ने भन्ने विषयमा छलफल भइरहेको जानकारी दिए ।

काठमाडौंबाट बाहिरिनेलाई भने प्रहरीले सहज ढंगले छाडिदिएको छ । सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन गएको चैत ११ देखि लकडाउन घोषणा गर्दै सर्वसाधारणको आवतजावतमा रोक लगाएको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्