
सत्तासिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक भोलि मंगलबार बोलाउने सहमति भएको छ।
पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच सोमबार कोटेश्वरस्थित नेता नेपालको निवास नजिकै रहेको वन पैदावार उद्योग व्यवसायी महासंघको भवनमा भएको छलफलले सचिवालय बैठक बोलाउने सहमति गरेको हो।
बैठकमा सहभागी नेकपा स्थायी कमिटी सदस्य रघुजी पन्तले भोलि सचिवालय बैठक बोलाउने सहमति भएको पुष्टि गरे।
छलफलमा ओली पक्षबाट उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल तथा नेपाल पक्षबाट स्वयं नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलगायत सहभागी थिए।
सरकारले हालै मात्र २ वटा अध्यादेश ल्याएकोमा तीव्र आलोचना पछि राष्ट्रपतिबाट खारेज भइसकेको छ। तर, नेकपाका नेताहरु स्थायी कमिटीको बैठक बोलाउन माग गर्दै आएपनि ओली टार्दै आएका छन्।
यसअघि ओली पक्षबाट वरिष्ठ नेता नेपाललाई अध्यक्ष बन्न प्रस्ताव आएको खबर सार्वजनिक भएको थियो। तर, नेपाल निकट स्थायी कमिटी सदस्य भीम रावलले खण्डन गरिसकेका छन्।
सम्बन्धित समाचार : ओलीको प्रस्ताव नेपाल पक्षद्वारा अस्वीकार, विनाशर्त सचिवालय र स्थायी कमिटी बोलाउन सुझाव