
बालुवाटारमा ओली-नेपाल भेट
प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सोमवार बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहान भएको भेटघाटमा ‘मिलेर जाने’ सहमति भएको बालुवाटार स्रोतले जनायो ।
‘उहाँहरूबीच बिहान भेटघाट भएको हो,’ बालुवाटार स्रोतले भन्यो, ‘भेटमा समसामयीक राजनीतिक विषयमा कुराकानी भयो । पछिल्लो समयमा पार्टीभित्र देखिएको विवाद समाधान गर्न दुवै नेताहरू तयार रहनुभएको बुझिएको छ ।’
प्रधानमन्त्री ओलीले विवादित अध्यादेश ल्याएपछि नेकपाभित्र तीव्र ध्रुवीकरण भएको थियो ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता नेपालबीच सरकारका पछिल्ला क्रियाकलापहरूले सरकार र पार्टी बदनाम भएको निष्कर्षका साथ निर्णायक छलफल गरिनुपर्ने माग गरिरहेका छन् ।
अब निजी प्रयोगशालाले पनि कोरोनाको परीक्षण गर्न पाउने
सरकारले कोरोना भाइरसको परीक्षणको दायरा फराकिलो बनाउने भएको छ। त्यसका लागि निजी अस्पतालका प्रयोगशालालाई पनि अनुमति दिइन थालिएकाे हाे।
यसअघि सरकारी अस्पतालका प्रयोगशालाबाट मात्र कोरोनाको परीक्षण हुँदै आएकोमा यसको दायरा बढाउन निजीलाई पनि साझेदार बनाउन लागिएको हो।
नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सोमबार उक्त जानकारी दिएका हुन्। त्यसका लागि स्वास्थ्य मन्त्रालयले मापदण्ड जारी गरेको छ। कोरोनाको परीक्षणका लागि निजी अस्पतालका प्रयोगशालाले सरकारबाट अनुमति लिनुपर्नेछ।
अहिले देशभरका १६ स्थानबाट कोरोना भाइरसको परीक्षण भइरहेको छ।
कोटेश्वरमा ओली र नेपाल पक्षबीच छलफल, तत्काल सचिवालय र स्थायी कमिटी बोलाउन सुझाव
नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच सोमवार कोटेश्वरमा लामो अनौपचारिक छलफल भएको छ ।
कोटेश्वरस्थित नेता नेपालको निवासनजिकै रहेको वन पैदावार उद्योग व्यवसायी महासंघको भवनमा भएको छलफलमा ओली पक्षबाट उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल तथा नेपाल पक्षबाट स्वयं नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलगायत सहभागी थिए ।
त्यसक्रममा आफूहरूले पार्टीभित्र देखिएको समस्यालाई निकास दिने दायित्व पार्टी अध्यक्ष एवं प्रधानमन्त्री भएको नाताले स्वयं प्रधानमन्त्रीको रहेकाले तत्काल निकास दिन आग्रह गरेको छलफलपछि नेता रघुजी पन्तले जानकारी दिए ।
नेता नेपाल पक्षले भोलिका लागि सचिवालय र त्यसबाट समाधान नभएका समस्या पर्सि स्थायी कमिटी बैठक बसेर छलफलबाट निकासको मार्ग प्रसस्त गर्न प्रधानमन्त्री ओलीलाई सुझाव समेत दिएको छ ।
'पार्टीभित्र समस्या आएको छ, त्यसलाई निकास दिने काम पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीको भएको नाताले तत्काल सचिवालय र स्थायी कमिटी बैठक बोलाउन सुझाव दिएका छौं ।'
लकडाउन अवधिभर सार्वजनिक बिदा, तलबभत्ता पनि पाइने
सरकारले लकडाउनको अवधिलाई सार्वजनिक बिदा दिने भएको छ।
राजपत्रमा जारी गरिएको सूचनामा सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम गत चैत ९ गते र तत्पश्चात विभिन्न मितिमा गरिएको समयमा गरिएको लकडाउनको समयलाई सार्वजनिक बिदा भनिएको छ।
सूचनामा भनिएको छ, ‘मिति २०७६ चैत ९ गते र तत्पश्चात विभिन्न मितिमा जारी गरेको आदेश बमोजिम सम्पूर्ण सरकारी कार्यालय, निकाय वा उद्योगले बिदा दिएका कर्मचारी वा श्रमिकको हकमा खाइपाई आएका तलब, भत्ता पाउने गरी त्यसरी बिदा दिएको अवधिलाई सम्बन्धित कार्यालय प्रमुखले सार्वजनिक बिदा कायम गर्ने निर्णय गर्नुपर्ने हुन्छ।’
राष्ट्रपति भण्डारीसँग सीले भने-कोरोनाविरुद्धको लडाइँमा चीनले निरन्तर सहयोग गर्छ
चिनियाँ राष्ट्रपति सी जिनपिङले कोरोना भाइरसविरुद्धको लडाइमा नेपाललाई निरन्तर सहयोग गर्ने उद्घोष गरेका छन्।
राष्ट्रपति विद्या भण्डारीसँग सोमबार साँझ भएको टेलिफोन संवादमा सीले कोरोनाविरुद्धको लडाइँमा नेपाललाईसहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्।
टेलिफोन संवादमा सीले नेपालमा कोरोनाको संक्रमणको अवस्थाबारे चीन जानकार रहेको र प्रकोपविरूद्धकोे लडाइँलाई गहिरो समर्थन गर्ने बताएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।
संवादमा राष्ट्रपति भण्डारीले स्वास्थ्य र चिकित्सा संस्थालाई सहयोग अभिवृद्धि गर्न आग्रह गरेकी थिइन्। सीले निन्तर सहयोगको प्रतिवद्धता जनाएका थिए।
पास नभएका गाडी नियन्त्रणमा लिन गृहको सर्कूलर
गृह मन्त्रालयले लकडाउनलाई कडाइएका साथ लागू गर्न सर्कूलर जारी गरेको छ।
गृहले सोमबार प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरीको मुख्यालय र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्र लेख्दै लकडाउनमा पास नभएका सवारीसाधनलाई पूर्णरुपमा नियन्त्रण गर्न निर्देशन दिएको हो।
सवारीसाधन अनुमतिपत्र सम्बन्धी कार्यविधि २०७६ बमोजिम सवारी पास जारी गरी पास प्राप्त गरेका सवारी साधनलाई मात्र चल्न दिन गृहले निर्देशन दिएको छ ।