
लकडाउन अवधिमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले अनलाइन अर्डर लिएर उपभोक्ताका घरसम्म ८० क्विन्टल खाद्य पदार्थ बिक्री गरेको छ ।
उपभोक्तालाई सेवा प्रवाह गर्न कम्पनीले गत चैत २६ गतेदेखि अनलाइन अर्डर शुरू गरेर खाद्यान्न बिक्री वितरण गर्दै आएको हो ।
यस अवधिमा काठमाडौं उपत्यकाको चक्रपथभित्रका उपभोक्तालाई लक्षित गर्दै अर्डरअनुसार दैनिक ३ भ्यानमार्फत खाद्य पदार्थ बिक्री गरिँदै आएको कम्पनीकी सूचना अधिकारी शर्मिला सुवेदीले जानकारी दिइन् ।
उनका अनुसार चामल र चिनीको बिक्री गर्दै आएको कम्पनीले उपभोक्ताको मागअनुसार ३ प्रकारका दाल (मुसुरो, रहर र केराउ) र पीठो समेत बिक्रीको तयारी गरिएको छ ।
हाल थापाथली, नख्खु, रामशाहपथ, श्रीविनायक र लगनखेल गरी ५ स्थानबाट खाद्य पदार्थ बिक्रीवितरण गरिएको छ । उपत्यका बाहिर सबै जिल्लाबाट बिक्री गरिएको कम्पनीले जनाएको छ । अन्य समयमा कम बिक्री हुने तराईका जिल्लामा समेत अहिले पर्याप्त मात्रामा खाद्यान्न बिक्री भइरहेको उनले जानकारी दिइन् ।
हाल कम्पनीसँग १९ हजार मेट्रिक टन खाद्यान्न मौज्दात छ । मौज्दातमा कमी भएसँगै नयाँ खरीदको प्रक्रिया शुरू हुने उनले जानकारी दिइन् । उनका अनुसार गहुँ खरीदको तयारी गरिएको छ । ‘लकडाउनको अवधिमा हामीले मोबाइल भ्यान र ई–सेवावाट खाद्यान्न खरिदको शुरूआत गरेका हौं,’ उनले भनिन्, ‘शुरूआती चरणमा रिङरोडभित्र मात्रै सेवा प्रवाह गरिएपनि उपत्यकाका सबै स्थानमा सेवा प्रदान गर्ने तयारी गरेका छौं ।’
खाद्य कम्पनीले १ लाख क्वीन्टल चामल खरीद गर्न दोस्रो पटक सार्वजनिक बोलपत्र आह्वान गरेको छ । १ महिनाको अवधि राखेर बोलपत्र आह्वान गर्दा १ जनाको पनि नपरेपछि १५ दिनको अवधि राखेर पुनः दोस्रो बोलपत्र आह्वान गरिएको कम्पनीले जनाएको छ ।
गत वैशाख १० गते दोस्रो पटक आह्वान गरिएको बोलपत्रअनुसार १ जनाको आवेदन दर्ता भएको कम्पनीका खरिद एकाइ प्रमुख डिल्लीराज लम्सालले जानकारी दिए । उनका अनुसार दोस्रो आह्वानको समयावधि वैशाख २५ गते दिउँसोसम्म छ । बोलपत्र दर्ता कम्पनी वा व्यक्तिले वैशाख २४ गते अपराह्न ५ बजेसम्म चामल खरीद गरिसक्नुपर्ने र वैशाख २५ गते मध्याह्न १२ बजेभित्र आवश्यक कागजपत्रसहित कार्यालयमा उपस्थित हुनुपर्नेछ ।
उनका अनुसार कम्पनीका कार्यालय विराटनगर, लहान, काठमाडौंं, नेपालगञ्ज र धनगढी, वीरगञ्ज र सुर्खेतका लागि बोलपत्र आह्वान गरिएको हो । कम्पनीले भण्डारण खाली भएको जनाउँदै पहिलो पटक गत चैत ५ गते ३० दिनको समयसीमा राखेर बोलपत्र आह्वान गरेको थियो ।