१५ असार २०८३, सोमबार

ग्वान्जाओमा स्वास्थ्य सामग्री तयार भइसक्यो, तर सेनाले अझै आपूर्तिकर्ता छनोट गर्न सकेको छैन

बैशाख १७, २०७७
ग्वान्जाओमा स्वास्थ्य सामग्री तयार भइसक्यो, तर सेनाले अझै आपूर्तिकर्ता छनोट गर्न सकेको छैन
तस्वीर सौजन्य : नयाँ पत्रिका दैनिक

आपूर्तिकर्ता छनोटमा विलम्ब हुँदा सेनाले कोरोना रोकथाम र नियन्त्रणका लागि चीनबाट खरिद गरेका स्वास्थ्य सामग्री ल्याउन ढिलाइ भएको छ । भारतबाट ल्याउने सामग्रीको त अहिलेसम्म खरिद प्रक्रियासमेत अघि बढेको छैन । 

सेनाले ८ वैशाखमा चीनको साइनो फर्म इन्टरनेशनल कर्पोरेसनसँग ३४२ टन स्वास्थ्य सामग्री खरिदका लागि सम्झौता गरेको थियो । त्यसको लगत्तै ९ वैशाखमा करिब सवा दुई अर्ब(एक करोड ८४ लाख ४१ हजार सात सय ६ अमेरिकी डलर) भुक्तानी गरेको थियो । चिनीयाँ कम्पनीले सामग्री तयार गरिसक्यो । तर, ग्वान्जाओबाट काठमाडौंसम्म ल्याउने आपुर्तिकर्ता सेनाले अझै छानिसकेको छैन् । 

सेनाले हवाई र सडक माध्यमबाट सामग्री ल्याउन ९ वैशाखमा टेण्डर आह्वान गरेको थियो । तर, एक साता बित्दा पनि प्रक्रिया पुरा भएको छैन् । ‘चिनियाँ कम्पनीका प्रतिनिधिले सामग्री तयार भइसक्यो, कसलाई, कहिले र कहाँ जम्मा गरौं भनेर दिनहुँ ताकेता गरिरहेका छन् । तर, हामी अझै आपूर्तिकर्ता छान्ने प्रक्रियामै छौँ, आपूर्तिकर्ताको टुंगो लागेपछि सामान कहिले आउँछ भन्ने टुंगो लाग्छ,’ सैनिक प्रबक्ता सहायकरथी विज्ञानदेव पाण्डेले भने ।

सामान ढुवानी गर्न ११ बैसाखसम्म ११ कम्पनीले प्रस्ताव पेश गरेका थिए । सेनाले १३ वैशाखमा एउटा कम्पनी छनोट गरेको थियो । आइतबार कम्पनी छनौट गर्न लागेको जानकारी रक्षा मन्त्रालयलाई दिएको सेनाले सोमबार साँझ ५ बजेसम्म बाँकी प्रतिष्पर्धी कम्पनीहरूलाई गुनासो वा उजुरी गर्ने मौका दिएको थियो । सोमबार साँझसम्म उजुरी नआएपछि एउटा कम्पनीलाई बोलाएर थप छलफल गर्ने र सम्झौतासहित भुक्तानीका लागि अर्थमन्त्रालयमा प्रस्ताव गर्ने सेनाको तयारी मंगलबार पनि टुंगिएन । बुधवारसम्म आपूर्तिकर्तासँग सम्झौता हुने विश्वासमा सेना छ । त्यसपछि मात्रै कम्पनी र आपूर्ति गर्दा लाग्ने रकम सार्वजनिक गरिने प्रवक्ता पाण्डेले बताए । 

सेनाले खरिद गरेका ६७ प्रकारका स्वास्थ्य सामग्रीमध्ये अत्यावश्यक ४० टन नेपाल एयरलाइन्सका दुई जहाजबाट ल्याउने तयारी छ । पीपीई, एन ९५ मास्क, पीसीआर टेष्टिङ किट्स, मेशिन, किटाणुनाशक स्प्रेलगायतका सामग्री शुक्रबारसम्म जहाजबाट ल्याउने योजना छ । तर, शुक्रवार मजदुर दिवसका कारण सामान ल्याउन नसके सोमबार मात्रै आउने छ । 

बाँकी सामग्री भने स्थलमार्गबाट ल्याइने छ । भन्सार प्रक्रिया पूरा गरेर ग्वान्जाओबाट काठमाडौंसम्म सामान आउन करिब १० दिन लाग्नेछ । प्रक्रिया पूरा गर्नुपर्ने कानूनी प्राबधानका कारण सामान आउन ढिलाई भएको एक सरकारी अधिकारीले बताए । खरिद प्रक्रियाबारे जानकार ती अघिकारीले भने, ‘सार्वजनिक खरिद ऐन र नियमावलीका प्रक्रियाअनुसार जानुपरेका कारण औषधी खरिद र आपूर्तिमा ढिलाई भएको हो ।’ 

हवाई मार्गबाट ल्याइने सामग्रीको बिमा नेपाल एयरलाइन्समै हुने तर, स्थल मार्गबाट ल्याउने सामानको बिमाको ग्यारेन्टी स्वयम् आपूर्तिकर्ताले गर्नुपर्ने प्रावधान छ । मंगलबार साँझसम्म नेपाल बिमा संस्थानबाट विमाको काजजात सेनाले पाइसकेको छैन । बुधवार आपूर्तिकर्तासँग सम्झौता भएपछि मात्रै उसलाई रक्षामन्त्रालयमार्फत् अर्थमन्त्रालयबाट बजेटको प्रबन्ध हुनेछ । त्यसपछि मात्रै सामान आउने मिति तय हुने सैनिक प्रबक्ता पाण्डेले बताए । सेनाले आपूर्तिकर्ता कम्पनी कुन छनौट भएको हो भन्ने अझै खुलाएको छैन । सेनाका एक उच्च अधिकारीले टिप्पणि गरे, ‘हामीले प्रक्रियाका नाममा समयको बर्बादी गरिरहेका छौँ भन्ने थाहा छ । तर, हामी सरकारी प्रक्रियामा बाँधिएका छौँ । भविश्यमा अनियमितता, बेरुजुको डरका कारण हामी प्रक्रियाको वरिपरि घुमिरहेका छौँ । महत्वपूर्ण समय खेर गइरहेको छ, तर हामी बाध्य छौँ ।’  

चिकित्सकहरूले अझै दुईसातासम्म परिस्थिति नबिग्रेमा चिन्ता मान्नुपर्ने अवस्था नभएको ब्रिफिङ सेनालाई गरेका छन् । त्यही आधारमा सेनाले पनि आफ्नो तयारी गरिरहेको छ । ‘हामीलाई अबका दुई साता उच्च जोखिमयुक्त समय भनिएको छ । त्यसपछि कोभिड १९ को जोखिम कम हुन्छ भनिएको छ । दुईसाताको समयभित्र सबै सामान आइसक्छ भन्नेमा हामी विश्वस्त छौँ,’ सैनिक प्रबक्ता पाण्डेले भने ।

भारतसँग औषधी किन्न झमेला

सेनाले भारतबाट औषधी खरिदका लागि २ करोड ४० लाख (भारु डेढ करोड) बजेट अर्थ मन्त्रालयबाट स्वीकृत गराएको छ । तर, रकम अझै दिल्ली पुगेको छैन । भारतको सरकारी कम्पनी भारतीय जनऔषधी परियोजना (बीपीपीआई)बाट ५३ प्रकारका औषधी खरिदका लागि डेढ करोड भारु पठाउने सेनाको तयारी थियो । बीपीपीआईले औषधी उत्पादन मात्रै गर्ने कम्पनी भएको, निर्यात गर्ने अधिकार नभएको भन्दै सम्झौता गर्न अस्वीकार गरेको छ । त्यैले परराष्ट्र मन्त्रालयमार्फत् भारतको विदेश मन्त्रालयसँग खरिद सम्झौता गर्नुपर्ने सुझाव सेनाले सरकारलाई दिएको छ । सैनिक स्रोतका अनुसार दिल्लीबाट निजि कम्पनीले जसरी नेपाली दूतावासले औषधी खरिद गरेर पठाउनुपर्ने अवस्था आएको छ । त्यसका लागि पनि सरकारले नेपाली दूतावासलाई अझै अख्तियारी दिइसकेको छैन । 

यसअघि नेपाली दूतावासको खातामा पैसा पठाउने, बीपीपीआईसँग खरिद सम्झौता गरेर सामान ल्याउने र उसलाई भुक्तानी दिने सेनाको योजना थियो । सेनाले रक्षा, अर्थ र परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर पैसा पठाउने तथा दिल्लीस्थित दूतावासका सैनिक सहचारी सहायकरथी ईश्वर मैनालीले खरिद प्रक्रियामा समन्वय गर्ने भनेको थियो । बीपीपीआईले पनि औषधी जम्मा भए/नभएको विषयमा अहिलेसम्म जानकारी नदिएको सैनिक प्रवक्ता पाण्डेले बताए । नयाँ पत्रिकामा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्