०५ असार २०८३, शुक्रबार

दाङको कारागारमा कोरोना भाइरसबाट बच्न उच्च सतर्कता

बैशाख २१, २०७७
दाङको कारागारमा कोरोना भाइरसबाट बच्न उच्च सतर्कता

कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि दाङका दुवै कारागारमा उच्च सर्तकता अपनाइएको छ । तुलसीपुर र घोराही कारागारमा उच्चसर्तकता अपनाइएको सम्बन्धित कारागारले जनाएका छन् ।

कोरानाका भाइरसको जोखिमलाई ध्यानमा राखी तुलसीपुर कारागारमा कैदीबन्दीको आफन्तसंँगको भेटघाटलाई पूर्ण रोक लगाइएको कारागारका जेलर युवराज परियारले बताए । उनका अनुसार कारागारको एउटा कोठामा क्वारेन्टटाइन बनाइएको र कारागारमा पठाइने कैदीबन्दीलाई स्वास्थ्य परीक्षण गरेर मात्र भित्र राखिने गरिएको छ ।

उनले कैदीबन्दीलाई सेनिटाइजर र मास्कको प्रयोगको पनि व्यवस्था मिलाइएको जानकारी दिए । जेलर परियारका अनुसार लडकाउन अवधिमा तुलसीपुर कारागारमा तीन पुरुष र एक महिला गरी चार बन्दी (थनुवा) र एक आश्रित (बालक ) थपिएका छन् ।

यससँगै हाल त्यहाँ ४६६ जना कैदीबन्दी छन् । तीमध्ये ४२९ पुरुष ३३ महिला र चार आश्रित बालबालिका छन् । घोराही कारागारमा पनि कोरोनाको संक्रमणबाट जोगिनका लागि उच्च सर्र्तकता अपनाइएको छ । त्यहाँ सात जना अट्ने क्षमताको क्वारेन्टाइन निर्माण गरिएको कारागारका जेलर विष्णुप्रसाद पाण्डेले बताए ।

कारागारमा थपिने कैदीबन्दी तथा कारागारमा रहेकालाई पनि समस्या देखिएमा त्यहाँ राख्नका लागि क्वारेन्टाइन निर्माण गरिएको हो । ‘शुरुमा क्वारेन्टाइनमा १४ दिनसम्म राख्छौँ, त्यसपछि स्वास्थ्य परीक्षण गरेर मात्र कारागार चलान गर्छौं,’ जेलर पाण्डेले भने ।

उनका अनुसार बन्दाबन्दी शुरु भएदेखि कारागारमा कैदीबन्दीसँग आफन्तको भेटघाटलाई पूर्ण रोक लगाइएको छ । घोराही कारागारमा बन्दाबन्दीको शुरु भएदेखि हालसम्म सात बन्दी थपिएका छन् । ती थपिएकासँगै हाल सो कारागारमा २७६ कैदीबन्दी छन् ।

कारागारको क्षमता भने सत्तरी जना मात्र छ । दाङका नाकामा कडाइ छिमेकी जिल्ला बाँकेको नेपालगञ्जमा कोभिड–१९ संक्रमित भेटिएपछि दाङका सबै नाकामा कडाइ गरिएको छ । बाँकेबाट दाङको तुलसीपुर भित्रिने मुख्य नाका अमिलिया, भालुबाङ, शिवखोलाातिर कडाइ गर्न थालिएको प्रजिअ गोविन्दप्रसाद रिजालले बताए ।

उनका अनुसार त्यस्तै भारतसँग सीमा जोडिएका कोइलाबास, धौवा, सिरिया, पटौली, सुनतखरीलगायत ३१ नाकामा पनि कडाइ गरिएको छ । तीमध्ये १० नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको प्रजिअ रिजालले जानकारी दिए ।

उनका अनुसार सोही स्थानमा चौबीसै घण्टा कडा जाँच गर्न थालिएको छ । एम्बुलेन्स, खाद्य पदार्थ, पेट्रोलियम पदार्थलगायत सवारी साधनलाई पनि कडा जाँच गरिने छ ।

एम्बुलेन्समा बिरामीसँग दुई जनाभन्दा बढी कुरुवा लैजान नपाउनाका साथै अस्पतालमा बसेर आएकालाई होम क्वारेन्टाइनमा राखिने भएको उपमहानगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख ओमप्रकाश न्यौपानेले बताए । नेपालगञ्ज जाने र त्यहाँबाट आउने हरेकको रेकर्डसमेत राखिने भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्