भारतमा सोमवारदेखि लकडाउन खुकुलो पारिँदा रक्सीको कारोबार खोलिएको छ । त्यसपछि मदिरा पसलहरूमा मानिसको भारी भीड छ । अनि सामाजिक सञ्जालमा भारतको अर्थतन्त्र रक्सीको आडमा चलिरहेको त छैन भनी बहस चल्न थालेको छ ।
त्यसो त मदिरा उद्योगले लामो समयदेखि रक्सीको बिक्री खोल्न दबाब दिइरहेको थियो । हरियाणा लगायतका राज्य सरकारले यसको माग गरिरहेका थिए ।
रक्सीमा लगाइने एक्साइज ट्याक्सले राज्यहरूको राजस्वमा ठूलो योगदान गर्छ ।
राजस्थान सरकारले रक्सीमा एक्साइज ट्याक्स १० प्रतिशतले बढायो ।
राज्यहरूलाई केन्द्रीय जीएसटीबाट भाग पनि दिइने गरिन्छ । तर केन्द्र सरकारले कैयौं महिनादेखि राज्यहरूलाई जीएसटीको भाग दिइरहेको थिएन । राज्यहरूले यसमा गुनासो गरिरहेका थिए ।
राज्यहरूको राजस्वको ठूलो भाग रक्सी र पेट्रोल तथा डीजलको बिक्रीबाट आउँछ । लकडाउनका कारण यी दुवैको बिक्री ठप्प थियो । त्यसैले राज्यहरूको आर्थिक अवस्था कमजोर बनेको थियो । उनीहरू २ प्रतिशतभन्दा बढी ब्याज तिर्नेगरी ऋण लिनुपरेको थियो ।
धेरैजसो राज्यमा कुल राजस्वको १५ देखि ३० प्रतिशत भाग रक्सीबाट उठ्छ ।
बिहार र गुजरातमा मात्र रक्सी बिक्रीमा प्रतिबन्ध लगाइएको छ । अन्य राज्यमा रक्सी बिक्रीबाट राम्रो राजस्व उठ्ने गरेको छ ।