१२ असार २०८३, शुक्रबार

सीमामा सशस्त्र प्रहरीकाे बिओपी संख्या पाँच सय पुर्‍याउन मन्त्रिपरिषदमा प्रस्ताव लैजाने तयारी

बैशाख २२, २०७७
सीमामा सशस्त्र प्रहरीकाे बिओपी संख्या पाँच सय पुर्‍याउन मन्त्रिपरिषदमा प्रस्ताव लैजाने तयारी

गृह मन्त्रालयले सिमानाकामा थप कडाइ गर्दै सशस्त्र प्रहरीको बिओपीको संख्या पाँच सय पुर्‍याउने तयारी गरेको छ। हाल सीमामा १२१ बिओपी छन्। त्यसलाई बढाएर पाँच सय पुर्‍याउने तयारी गरिएकाे हाे।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले दिएको निर्देशन अनुरुप सशस्त्र प्रहरी बलले सो सम्बन्धि खाका तयार पारी सोमबार गृह मन्त्रालयमा गृहमन्त्री र मन्त्रालयका अधिकारी समक्ष प्रस्तुत गरेको उनका प्रेस संयाेजक किरण भट्टराईले जानकारी दिए।

नेपालतर्फको सिमानाकामा भारतको ५३० बिओपी रहेकोमा नेपालले पनि सोही अनुपातमा बिओपी थप्ने तयारी गरेको हो। प्रस्ताव अनुसार सो संख्यामा जनशक्ति खटाउन ९ हजार जनशक्ति थप गर्नुपर्ने प्रस्ताव पनि सशस्त्रले राखेको छ। हाल सरदर १५ किलोमिटरको दूरीमा रहेका बिओपीकाे संख्यामा थप गरेमा ३.५ किलोमिटर सीमामा रहनेछ।

बिओपी थप सम्बन्धि गृहमन्त्रालयको छलफलमा गृहमन्त्री थापाले सीमा व्यवस्थापनको विषयलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै बिओेपी थप सम्बन्धि प्रस्ताव आफूले मन्त्रीपरिषदमा लैजाने बताएका छन्। उनले बिओपी रहने स्थान, आवश्यक पूर्वाधार लगायतका विषयमा थप विस्तृत प्रस्ताव ल्याउन सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई निर्देशन दिए।

गृहसचिव महेश्वर न्यौपानेले सिमाको विषय संवेदनशील विषय भएकोले सिमाबाट हुने अपराध, चोरी, तस्करी नियन्त्रणका लागि समेत बिओेपी बढाउनुको विकल्प नरहेको बताए। उनले भन्सारको १११ ठाउँमा रहेको जग्गा बिओपीलाई दिन अर्थ मन्त्रालय सकारात्मक देखिएको जानकारी दिँदै अन्य स्थानमा प्रदेश सरकार, स्थानीय निकाय र जिल्ला प्रशासनसँगको समन्वयमा आवश्यक जग्गा खोज्न सशस्त्र प्रहरीलाई निर्देशन दिए।

गृहमन्त्रीका प्रेस संयाेजक भट्टराईका अनुसार यसअघि सिमाक्षेत्रमा ८७ बिओपीमात्रै रहेकोमा गृहमन्त्री  थापाले गृहमन्त्रालय सम्हालेपछि १२० पुर्‍याइएको हाे। त्यस्तै बिओपी संख्या २२१ पुरयाउने गृहमन्त्रीको प्रस्ताब मन्त्रीपरिषद्ले यसअघिनै पारित गरिसकेको छ।

यसअघि बिओपीमा करिव ५ हजार जनशक्ति रहेकोमा कोरोनाको संक्रमणका कारण सिमा सिलपछि ८ हजार ३८३ थप जनशक्ति सिमामा थपिएको हो। गृहमन्त्री थापाले पहाडी र हिमाली जिल्ला, हेडक्वार्टर लगायतका स्थानमा रहेका जनशक्ति घटाएर सिमामा पठाउन निर्देशन दिएसँगै अहिले ठुलो संख्यामा सिमामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिएका छन्। सशस्त्रको १२१ स्थानमा मात्रै बिओेपी रहेपनि कोरोनाको संक्रमणका कारण सिमा सिलपछि त्यसलाई बिस्तार गरि १२ सय स्थानमा अस्थायी र स्थायी पोस्ट विस्तार गरिएको सशस्त्रले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्