३१ असार २०८३, बुधबार

हिजो दिनभर : नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुग्यो, सांसद र कर्मचारीको पीसीआर विधिबाट कोरोना परीक्षण अनिवार्य

बैशाख २४, २०७७
हिजो दिनभर : नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुग्यो,  सांसद र कर्मचारीको पीसीआर विधिबाट कोरोना परीक्षण अनिवार्य

दूरी कायम गरेर संसद चलाइने, सांसद र कर्मचारीको पीसीआर विधिबाट कोरोना परीक्षण अनिवार्य

संघीय संसद बैठक सञ्चालन अघि संसद परिसर, भवन, सभाहल र कक्षलाई स्यानीटाइज गरिने भएको छ। 

सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले उक्त निर्णय गरेको हो।

हाल कोरोना भाइरसका कारण संसद स्थगित भएपनि बजेट अधिवेशनको तयारी हुँदैछ।

सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार यो अवस्थामा विश्व स्वास्थ्य संगठनले तोकेका मापदण्ड पालना गर्दै दूरी कायम गरेर बैठक सञ्चालन गर्ने निर्णय भएको छ।

त्यसैगरी, संघीय संसदका सदस्य र कर्मचारीको पीसीआर विधिबाट कोरोना परिक्षण गरिने भएको छ, भने संसद भवनमा कोरोना संक्रमण हुन नदिन सबै पूर्वतयारी गरिने छ।

समितिको बैठकले संसद भवनको सरसफाइमा विशेष ध्यान दिने निर्णय पनि गरेको छ।

बालुवाटारमा ओली, प्रचण्ड र नेपालको भेट, स्थायी कमिटी बैठकका एजेण्डामा छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा मंगलवार बिहान सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तीन शीर्ष नेताहरूबीच छलफल भएको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालबीच आगामी स्थायी कमिटी बैठकका एजेण्डाबारे छलफल भएको स्रोतले जानकारी दिएको छ ।

तीन नेताबीच बिहान करीब ११ बजेबाट छलफल शुरू भएको थियो । गत शनिवार बसेको सचिवालय बैठकमा यही वैशाख २५ गते स्थायी कमिटी बैठक बोलाउने र त्यसको अघिल्लो दिन २४ गते सचिवालय बैठक बोलाउने निर्णय भएको थियो ।

स्थायी कमिटी बैठकको तयारीका लागि दस्तावेज बनाउने जिम्मा अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलले पाएका छन् ।

दस्तावेजमा समसामयिक परिस्थिति, पार्टी र सरकारको पोजिसन कसरी उल्लेख गर्ने भन्ने विषयमा नेतात्रयबीच छलफल भएको हो ।

गत शनिवार सचिवालय बैठकमा भएको सहमति अनुसार अघि बढ्ने प्रतिबद्धता नेताहरूले जनाएपनि वरिष्ठ नेता असन्तुष्ट देखिन्छन् ।

सोमवार अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल, नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठबीच श्रेष्ठनिवास हात्तीवनमा गोप्य छलफल भएको थियो ।

छलफलमा केही शर्तहरू पूरा नगरे स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग्ने तय गरिएको स्रोतले लोकान्तरलाई जानकारी दिएको थियो ।

तीन नेताबीचको शक्ति सन्तुलनलाई कसरी मिलाएर अघि बढ्ने भन्ने विषयमा नेकपाभित्र धेरै पहिलेदेखि रस्साकस्सी चलिरहेको थियो ।

कोशी अस्पतालमा उपचार गराइरहेका ३१ मध्ये ६ घर फर्कने

कोशी अस्पताल (कोभिड-१९) उपचार केन्द्र विराटनगरमा उपचार गराइरहेका ३१ जनामध्ये ६ जना घर फर्कने भएका छन्। 

 प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले  मन्त्रालयमा मंगलबार साँझ आयोजित पत्रकार सम्मेलनमा ६ जनालाई बुधबार बिहान डिस्चार्ज गरिने जानकारी दिए। उनले गत वैशाख ५ र ६ गते उदयपुरको भुल्काबाट ल्याइएका १३ सङ्क्रमितमध्ये ६ जनाको तीन चरणको थ्रोट स्वाब परीक्षण (पिसिआर( गर्दा नेगेटिभ रिपोर्ट आएको अस्पतालले पुष्टि गरेपछि डिस्चार्ज गरिने निर्णय गरिएको बताए। उनीहरु सबै भारतीय नागरिक हुन्। 

उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्री घिमिरेले जानकारी दिए। केही रगत परीक्षणको काम बाँकी रहेकाले बुधबार उनीहरुलाई डिस्चार्ज गरिने लागेको कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा सङ्गीता मिश्राले बताइन्। उनीहरु सबैलाई विराटनगर रानीको एक मस्जिदमा निर्माण गरिएको क्वारेन्टाइनमा एक हप्ता राखिने भएको छ। 

मन्त्री घिमिरेले क्वारेन्टाइनको स्थलगत निरीक्षण गरिएको  बताउँदै १० वटा वेड रुम र १० वटा शौचालय भएको मस्जिदमा राखिने व्यवस्था गरिएको जानकारी दिए। कोभिड अस्पतालमा उपचाररत कोभिड–१९ बाट सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मेसु मिश्राले बताइन्।

थप ७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित सबै नेपालगञ्जको

 नेपालमा थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप सात जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार बिहान पुष्टि गरेको हो । 

मन्त्रालयका अनुसार नयाँ संक्रमित नेपालगञ्जकै रहेका छन् । नेपालगञ्ज ८ का २२, ३०, ४० वर्षीय पुरुष तथा ९ वर्षीया बालिकासहित ३२, ३४, ५५ वर्षीया महिलाहरूमा कोरोना पुष्टि भएको हो । उनीहरूको स्वास्थ्य अवस्था सामान्य भएको मन्त्रालयले जनाएको छ । 

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ । 

salt training

कमेन्ट गर्नुहोस्