कोरोनाभाइरसका कारण मर्नेहरूको संख्या अमेरिकामा लगातार बढिरहेको छ । तर राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाको असर कम हुन थालेको बताएका छन् ।
आफूहरू कोरोनाविरुद्धको लडाइँको अर्को चरणमा रहेको र अब अमेरिकालाई खोल्नका लागि कदम उठाउने उनले बताए ।
एक कार्यक्रममा बोल्दै ट्रम्पले कोरोनबाट जति क्षति हुनुपर्ने हो भइसकेको बताउँदै अमेरिका कोरोनालाई हराउन सक्षम रहेको बयान दिए । लाखौं अमेरिकीहरू घरमा भएकाले आफूहरूको जीत हुन थालेको उनको भनाइ छ । हजारौं
अमेरिकीहरूको ज्यान जोगाएकाले बिस्तारै अमेरिकालाई खोल्ने काम शुरू गर्ने उनले बताए ।
अमेरिकामा कोरोनाका कारण मर्नेहरूको संख्या बढेको बेलामा ट्रम्पको बयान आएको हो । विगत २४ घन्टामा मात्र २३ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । ज्यान गुमाउनेको कुल संख्या ७१ हजार कटिसकेको छ ।
अमेरिकाका केही राज्यले पब र रेस्टुराँ खोल्न छुट दिन थालेका छन् । ट्रम्पले चुनावी सभा पनि आयोजना गर्न खोजिरहेका छन् ।